अर्घाखाँची: महिला नेतृ सकुन्तला रानाको गच्छेघाटमा अन्तिम दाहसंस्कार, राजनीतिक तथा सामाजिक क्षेत्रबाट भावपूर्ण श्रद्धाञ्जली! (तस्बिर सहित)
श्रावण ३१ गते, २०८३ मा प्रकाशित
महिला नेतृ सकुन्तला रानाको गच्छेघाटमा अन्तिम दाहसंस्कार, राजनीतिक तथा सामाजिक क्षेत्रबाट भावपूर्ण श्रद्धाञ्जली!
-अर्घाखाँची डटकम।
अर्घाखाँची । अर्घाखाँचीकी महिला नेतृ तथा राष्ट्रिय जनमोर्चाकी नेतृ स्वर्गीय सकुन्तला रानाको गच्छेघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्तिम दाहसंस्कार सम्पन्न भएको छ। लामो समयदेखि राजनीतिक, सामाजिक तथा महिला आन्दोलनमा सक्रिय रानाको अन्तिम बिदाइमा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, जनप्रतिनिधि, पत्रकार, आफन्त तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
रानाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सन्धिखर्क नगरपालिका–२, मसालबजारस्थित राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको जिल्ला पार्टी कार्यालयमा राखिएको थियो। त्यहाँ आयोजित श्रद्धाञ्जली कार्यक्रममा विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधि, नेता–कार्यकर्ता, पत्रकार, आफन्त तथा शुभेच्छुकहरूले पार्थिव शरीरमा फूलमाला तथा अबिर अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।
पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन बाबुराम पन्थीले गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले पार्टीको झण्डा ओढाएर स्वर्गीय रानाप्रति सम्मान व्यक्त गर्नुभएको थियो।
त्यसैगरी अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मीना पुन, केन्द्रीय उपाध्यक्ष कल्पना पोखरेल, अखिल छैथौका का केन्द्रीय अध्यक्ष शुभ घर्ती, राजमोका जिल्ला प्रवक्ता पशुपति ढकाल, राजमो अर्घाखाँचीका जिल्ला अध्यक्ष थम्मन केसी, मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रेशम बी.कलगायतले रानाको पार्थिव शरीरमा फूलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।
पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि रानाको पार्थिव शरीरलाई अन्तिम दाहसंस्कारका लागि गच्छेघाट लगिएको थियो।
गच्छेघाटमा भावपूर्ण अन्तिम श्रद्धाञ्जली
गच्छेघाटमा आयोजित अन्तिम श्रद्धाञ्जली तथा दाहसंस्कार कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार, आफन्त तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अन्तिम दाहसंस्कार कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले पार्टीको झण्डा ओढाएर स्वर्गीय सकुन्तला रानाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। पार्टीको झण्डा ओढाएर अन्तिम सम्मान व्यक्त गरिँदा उपस्थित नेता–कार्यकर्ता तथा शुभेच्छुकहरू भावुक बनेका थिए।
कार्यक्रममा सहभागीहरूले एक मिनेट मौनधारण गर्दै स्वर्गीय रानाप्रति सम्मान व्यक्त गरेका थिए। त्यसपछि उपस्थित नेता–कार्यकर्ता, आफन्त तथा शुभेच्छुकहरूले पार्थिव शरीरमा फूलमाला तथा अबिर अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली दिएका थिए।
गच्छेघाटमा आयोजित अन्तिम दाहसंस्कार कार्यक्रमको सञ्चालन राजमो अर्घाखाँचीका जिल्ला अध्यक्ष थम्मन केसी ले गर्नुभएको थियो।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार सुरेश आचार्य, राजमोका नेता तथा प्रदेश सल्लाहकार शेरबहादुर बीसी, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्तालगायतको सहभागिता रहेको थियो।
त्यसैगरी भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापा, नेकपा (एमाले)का सचिवालय सदस्य पदम छेत्री, नेपाली कम्युनिष्ट पार्टीका जिल्ला संयोजक रामबहादुर चौहान, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला सचिव राजेन्द्र नेपाली, नेपाली कांग्रेसका प्रतिनिधि, राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका उपाध्यक्ष सहयोगी बीसी, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष क. लक्ष्मी बसकोटा, नेकपा (मसाल)का जिल्ला प्रवक्ता पशुपति ढकाललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य गोविन्द थापा, पश्चिमोत्तर क्षेत्रीय सदस्य रेशम बीके, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल, अर्घाखाँची डटकमका अध्यक्ष मेहर सिंह केसीलगायत पत्रकार, शुभेच्छुक, आफन्त तथा स्थानीयको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
उपस्थितहरूले स्वर्गीय रानाले महिला आन्दोलन, सामाजिक जागरण तथा राजनीतिक क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।
बाल्यकालदेखि राजनीतिक यात्रासम्म
सकुन्तला रानाको जन्म २०२७ साल असार १० गते भएको थियो। उहाँका बुवा तिलबहादुर राना र आमा नमीदेवी राना हुनुहुन्थ्यो। उहाँका भाइ गिरबहादुर राना र बहिनी कविता राना रहेको विवरण छ। उहाँको बाल्यकाल असुरकोटमा पालनपोषण भएको थियो।
रानाले कक्षा १ देखि ३ सम्म बालशिक्षा प्रावि, असुरकोट र कक्षा ४ देखि १० सम्म जनप्रिय माध्यमिक विद्यालय, असुरकोटमा अध्ययन गर्नुभएको थियो। उहाँले २०४७ सालमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो।
उहाँ २०४४ सालमा रक्तिम जनसांस्कृतिक अभियानमा आबद्ध भई काम गर्नुभएको थियो। त्यसपछि २०४५ सालमा अखिल नेपाल महिला संघ असुरकोट गाउँ कमिटीमा रहेर काम गर्नुभएको थियो।
२०४६ सालमा नेकपा (मसाल)को समर्थक समूहमा रहेर राजनीतिक गतिविधिमा सक्रिय हुनुभएकी राना २०४७ सालदेखि अखिल नेपाल महिला संघमा आबद्ध भएर काम गर्नुभएको थियो। उहाँले नेकपा (मसाल) जिल्ला समिति सदस्य तथा सचिवालय सदस्यको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो।
अखिल नेपाल महिला संघको चौथो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य बन्नुभएकी राना २०७० सालको सम्मेलनबाट उपाध्यक्ष र २०७५ सालको सातौँ राष्ट्रिय सम्मेलनबाट महासचिव बन्नुभएको थियो।
उहाँले २०७८ सालमा भूमि आयोगको सदस्यका रूपमा समेत काम गर्नुभएको थियो। त्यसैगरी २०७४ सालमा भूमिकास्थान नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिनुभएको थियो।
महिला अधिकार, सामाजिक न्याय, राजनीतिक चेतना तथा संगठन निर्माणका क्षेत्रमा लामो समय सक्रिय रानाको राजनीतिक यात्रा अर्घाखाँचीको वामपन्थी तथा महिला आन्दोलनसँग जोडिएको थियो।
भारतमा उपचारका क्रममा निधन
रानाको २०८२ साल माघमा पाठेघरको शल्यक्रिया गरिएको थियो। त्यसपछि स्वास्थ्य समस्या बढ्दै गएपछि थप उपचारका लागि भारत लगिएको थियो। भारतस्थित ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) ‘ मा क्यान्सरको पछिल्लो चरणको उपचार भइरहेको अवस्थामा रानाको निधन भएको थियो।
रानाको निधनसँगै अर्घाखाँचीले महिला आन्दोलन, सामाजिक अभियान तथा राजनीतिक क्षेत्रमा लामो समय सक्रिय एक अनुभवी महिला नेतृ गुमाएको भन्दै विभिन्न राजनीतिक दल तथा सामाजिक क्षेत्रबाट दुःख व्यक्त गरिएको छ।
पार्टीको झण्डा ओढाएर अन्तिम सम्मान, एक मिनेट मौनधारण तथा फूलमालासहित श्रद्धाञ्जलीपछि स्वर्गीय सकुन्तला रानाको पार्थिव शरीरको गच्छेघाटमा अन्तिम दाहसंस्कार सम्पन्न गरिएको हो।