कैलालीमा ट्रकसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका १ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

सोमबार बिहान पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको जिल्ला नवलपरासी (सुस्ता पूर्व) कावासोती नगरपालिका–१६ डण्डा बस्ने २६ वर्षीय दिनेश गिरीले चलाएको सु.प.प्र.०१–००१ ख ३६९५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेकी कैलालीको बर्दगोरिया गाउँपालिका–४ बस्ने ६२ वर्षीया सावित्री देवी सापकोटाले चलाएको लु.प्र.०१०१० प ००४५ नम्बरको ईभी स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी सापकोटाको दोदोधरा अस्पताल, मुडागाउँमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनापछि ट्रक, ईभी स्कुटर र ट्रक चालक दिनेश गिरी इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।