
काठमाडौँ । इजरायलमा आगामी २७ अक्टोबरमा हुने संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई पूर्व सेना प्रमुख गादी आइजेनकोटले ठूलो चुनौती दिने संकेत देखिएको छ । हालै सार्वजनिक भएको नयाँ सर्वेक्षणमा आइजेनकोटको विपक्षी दल यशारले २५ सिट जित्ने अनुमान गरिएको छ भने नेतन्याहूको लिकुड दल २१ सिटमा सीमित हुने देखिएको छ ।
यसअनुसार यशारले लिकुडमाथि चार सिटको अग्रता बनाएको छ । पछिल्ला केही साताका अधिकांश सर्वेक्षणमा पनि यशार अगाडि रहे पनि अन्तर निकै कम थियो । केही सर्वेक्षणमा लिकुड बराबरीमा थियो भने केहीमा एक वा दुई सिटले मात्र पछाडि थियो । नयाँ सर्वेक्षणमा भने अन्तर बढेर चार सिट पुगेको छ ।


यशार सबैभन्दा ठूलो दल बन्ने देखिए पनि चुनावपछि सरकार गठन गर्न भने सहज हुने छैन । इजरायली संसद नेसेटमा कुल १२० सिट छन् र सरकार बनाउन कम्तीमा ६१ सिटको समर्थन आवश्यक पर्छ ।

सर्वेक्षणमा नेतन्याहूविरोधी दलहरूको ‘परिवर्तन समूह’ले ५८ सिट पाउने अनुमान गरिएको छ । यो समूह बहुमतका लागि तीन सिट मात्र टाढा देखिएको छ । अर्कोतर्फ नेतन्याहू समर्थक दलहरूले ५० सिट पाउने अनुमान छ । अरब दलहरूले १२ सिट पाउने देखिएको छ, जसमा राम दल र हदाश-तालले ६-६ सिट पाउने अनुमान गरिएको छ ।
यसको अर्थ चुनावअघि कुनै पनि प्रमुख समूहसँग सरकार बनाउन आवश्यक स्पष्ट बहुमत देखिएको छैन । आइजेनकोटको लोकप्रियता बढिरहेका बेला नेतन्याहूविरोधी विपक्षी नेता याइर ल्यापिडको दल बीयाचदले विपक्षी सरकार गठनको बाटोमा अवरोध नबन्ने जनाएको छ । तर ल्यापिडलाई आइजेनकोटलाई प्रधानमन्त्री बनाउन आफ्नो दलले समर्थन गर्छ कि गर्दैन भनेर सोध्दा उनले स्पष्ट जवाफ दिएनन् ।

बीयाचदमा ल्यापिड दोस्रो तहका नेता हुन् । दलको नेतृत्व पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले गरिरहेका छन् । बेनेट पनि प्रधानमन्त्री पदका दाबेदारका रूपमा प्रस्तुत हुँदै आएका छन् । आइजेनकोटले यसअघि नेतन्याहूविरोधी गठबन्धनमा सबैभन्दा ठूलो दलको नेता नै अर्को प्रधानमन्त्री हुनुपर्ने बताएका थिए ।
यस भनाइले सन् २०२१ देखि २०२२ सम्म प्रधानमन्त्री रहेका नफ्ताली बेनेटको कार्यकाललाई पनि संकेत गरेको देखिन्छ । त्यतिबेला बेनेटको दलसँग नेसेटमा केवल सात सिट थियो । तर विभिन्न दलसँग गठबन्धन बनाएर उनी प्रधानमन्त्री बनेका थिए । त्यसबेला उनको प्रधानमन्त्री चयनलाई लिएर निकै बहस भएको थियो । यसैबीच, च्यानल १२ को एक रिपोर्टअनुसार इरानबाट इजरायली नेताहरूलाई क्षति पुर्याउने प्रयासका संकेत देखिएका छन् । प्रधानमन्त्री नेतन्याहूलाई सरकारी सुरक्षा उपलब्ध भए पनि आइजेनकोटलाई हाल औपचारिक रूपमा सरकारी सुरक्षा प्रदान गरिएको छैन । आइजेनकोटको राजनीतिक प्रभाव बढ्दै गएपछि उनको सुरक्षालाई लिएर चिन्ता बढेको छ । चुनावी अभियान तीव्र भइरहेका बेला इजरायलको आन्तरिक सुरक्षा निकाय ‘शिन बेट’ले उनलाई हतियारसहितको सुरक्षा प्रदान गर्ने विषयमा विचार गरिरहेको छ ।


इजरायलमा जनताले प्रत्यक्ष रूपमा प्रधानमन्त्री वा कुनै उम्मेदवारलाई मतदान गर्दैनन् । मतदाताले राजनीतिक दललाई मतदान गर्छन् । सम्पूर्ण इजरायललाई एउटै निर्वाचन क्षेत्र मानिन्छ र दलहरूले प्राप्त गरेको मतका आधारमा १२० सदस्यीय नेसेटमा सिट बाँडफाँट हुन्छ । चुनावपछि विजयी दलहरूले अन्य दलसँग गठबन्धन बनाएर सरकार गठन गर्ने प्रयास गर्छन् । नेसेटमा ६१ वा त्यसभन्दा बढी सांसदको समर्थन जुटाउन सक्ने नेताले सरकार गठन गर्दै प्रधानमन्त्रीको जिम्मेवारी पाउँछन् । त्यसैले सबैभन्दा धेरै मत वा सिट जित्ने दलका नेता नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने अनिवार्य व्यवस्था छैन ।
नेतन्याहू हाल इजरायलका प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकालमा छन् । उनी सन् २०२२ डिसेम्बर २९ देखि निरन्तर प्रधानमन्त्रीको जिम्मेवारीमा छन् । नेतन्याहू पहिलोपटक सन् १९९६ जुन १८ मा इजरायलको प्रधानमन्त्री बनेका थिए । उनको पहिलो कार्यकाल सन् १९९९ जुलाई ६ सम्म चलेको थियो । त्यसपछि उनी सन् २००९ मार्च ३१ मा पुनः प्रधानमन्त्री बने । दोस्रो कार्यकालमा उनले लामो समय सरकारको नेतृत्व गरे र सन् २०२१ जुन १३ सम्म प्रधानमन्त्री रहे । सन् २०२२ को निर्वाचनपछि नेतन्याहू पुनः सरकार गठन गर्न सफल भए । उनले २०२२ डिसेम्बर २९ मा प्रधानमन्त्रीका रूपमा तेस्रोपटक पद सम्हालेका हुन् ।
यससँगै नेतन्याहू इजरायलको राजनीतिमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहने नेतामध्ये एक बनेका छन् । उनको राजनीतिक यात्रा सन् १९९६ देखि विभिन्न चरणमा इजरायलको सरकारको नेतृत्वसँग जोडिएको छ ।





