
काठमाडौँ । फेरारीको पहिलो पूर्ण विद्युतीय कार ‘लुचे’ अमेरिकाको क्यालिफोर्नियामा भएको परोपकारी लिलामीमा ४ करोड डलरमा बिक्री भएको छ । यो रकम कुनै नयाँ कार लिलामीमा बिक्री भएको अहिलेसम्मकै उच्च मूल्य हो ।
लिलामीमा बिक्री भएको ‘लुचे’ फेरारीको पहिलो उत्पादन कार रहेको जनाइएको छ । विशेष सजावट, आफूअनुकूल बनाइएका पाटपुर्जा, विशेष पाङ्ग्रा र ब्रेकसहितको सेतो रङको यो कार सामान्य मूल्यभन्दा ३५ गुणाभन्दा बढीमा बिक्री भएको हो ।


कार बिक्रीबाट प्राप्त सम्पूर्ण रकम फेरारी प्रतिष्ठानका शैक्षिक कार्यक्रमका लागि दान गरिने आयोजकले बताएका छन् । कार खरिद गर्ने व्यक्तिको परिचय भने सार्वजनिक गरिएको छैन ।

‘लुचे’को डिजाइन आइफोनका डिजाइनर सर जोनी आइभको अवधारणामा तयार भएको मानिन्छ । गत मेमा सार्वजनिक भएदेखि नै कारले मिश्रित प्रतिक्रिया पाउँदै आएको छ । कतिपयले यसको डिजाइन फेरारीको परम्परागत शैलीभन्दा फरक भएको र पाँच सिटको विद्युतीय कार बनाउँदा कम्पनीको पहिचान कमजोर हुन सक्ने आलोचना गरेका थिए ।
आलोचकमा इटालीका उपप्रधानमन्त्री मातेओ साल्भिनी र फेरारीका पूर्वअध्यक्ष लुका कोर्डेरो दी मोन्टेजेमोलो पनि थिए । मोन्टेजेमोलोले यसले फेरारीको विरासतलाई जोखिममा पार्न सक्ने बताएका थिए ।

फेरारीका मुख्य डिजाइन अधिकारी फ्लाभियो मन्जोनीले भने आलोचना नयाँपनको प्रक्रियाको हिस्सा भएको र समयसँगै मानिसले ‘लुचे’लाई मन पराउने विश्वास व्यक्त गरेका छन् ।
लिलामीमा फेरारीका कारले प्रायः उच्च मूल्य हासिल गर्ने गरेका छन् । यद्यपि, सबैभन्दा महँगो कारको लिलामी मूल्यको कीर्तिमान भने सन् १९५५ मा बनेको मर्सिडिज बेन्ज ३०० एसएलआर उलेनहाउट कुपको नाममा छ । उक्त कार सन् २०२२ मा १४ करोड २० लाख डलरमा बिक्री भएको थियो ।

फेरारीले ‘लुचे’को बिक्री लक्ष्य सार्वजनिक गरेको छैन । पछिल्लो समय चीनमा बलियो माग रहेकाले कम्पनीले यस वर्षको बिक्री लक्ष्य पूरा गरिसकेको फाइनान्सियल टाइम्सले जनाएको छ ।




