
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन असोज १६ गतेदेखि सुरु हुने भन्दै अब मिति हेरफेरको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशनको प्रक्रिया तोकिएकै मितिबाट सुरु हुने र यसमा कुनै बहानाबाजी नचल्ने स्पष्ट गरेका हुन् ।

थापाले महाधिवेशनमा कुनै समूह वा व्यक्तिलाई छुटाउन नहुने बताउँदै सबैलाई सहभागी गराउन आफू तयार रहेको उल्लेख गरे । अधिवेशनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आवश्यक विषयमा सहमति गर्न तयार भए पनि अधिवेशन रोक्ने प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो ।


काँग्रेसको संस्थापन इतरको राष्ट्रिय भेलामा हिन्दु धर्म बारे उठेको विषयतर्फ इंगित गर्दै पार्टीभित्र हिन्दु राष्ट्र र धर्मका विषयमा उठिरहेको बारे तत्कालीन राजनीतिक लाभभन्दा दीर्घकालीन असरलाई ध्यान दिनुपर्ने बताए । फरक मत राख्नु लोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्दै उनले त्यस्ता विषयलाई पार्टीको नीतिमा समेट्न वैधानिक प्रक्रिया अपनाउनुपर्ने बताए ।
सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्नुपर्ने बताएका छन् । आगामी आवधिक निर्वाचन पनि यही सरकारले गराउनुपर्ने उनको भनाइ छ । कांग्रेस प्रमुख प्रतिपक्षी दलका रूपमा रहे पनि अरू दलको आन्तरिक विषयमा हस्तक्षेप नगर्ने स्पष्ट पार्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई कांग्रेसको प्रतिद्वन्द्वी नभई राजनीतिक प्रतिस्पर्धीका रूपमा हेर्ने बताए ।

सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले मुलुकमा शासकीय अराजकता देखिएको आरोप लगाए। सरकार कानुनअनुसार अघि बढे सहज रूपमा चल्ने तर कानुनलाई आफूअनुकूल प्रयोग गर्न खोजे समस्या आउने उनको चेतावनी थियो ।
थापाले सरकारले समस्या समाधान गर्नुभन्दा त्यसलाई छोप्ने प्रयास गरिरहेको आरोप लगाउँदै सरकारप्रति नागरिकको विश्वास कमजोर हुँदै गएको बताए । कांग्रेसले सरकारलाई निरन्तर सचेत गराइरहने उनको भनाइ छ ।





