
काठमाडौं, २ भदौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सहयोगी राष्ट्र ओमानलाई यदि उसले इरानसँगको आफ्नो प्रशासनको वार्तामा अवरोध खडा गरे बम प्रहार गर्ने धम्की दिएका छन्।
विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनमा ल्याउन अमेरिका र ओमानले तेहरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेको बेला ट्रम्पको यो धम्की आएको हो । अमेरिका इरान तनावका कारण यो जलमार्ग विगत ६ महिनादेखि प्रायः बन्द अवस्थामा छ।

फक्स न्युजका एक पत्रकारका अनुसार अमेरिकी राष्ट्रपतिले फोनमार्फत भएको अन्तर्वार्ताका क्रममा अपशब्द प्रयोग गर्दै ओमानलाई यस्तो धम्की दिएका हुन्। यसअघि सोही दिन इरानी अधिकारीहरूले ओमानसँगको सम्झौतालाई अन्तिम रूप दिने तयारीमा रहेको बताएका थिए। यता, दुई पक्षबीच भएको ६० दिने समझदारी पत्रको म्याद सकिन लागेकाले अमेरिका र इरानबीचको वार्ताको भविष्य अनिश्चित बनेको छ।


सोमबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै गर्दा बीबीसी न्युजले ट्रम्पलाई उक्त समझदारी पत्रको म्याद थप्नेबारे सोधेको थियो, जसको जवाफमा उनले ‘होइन’ भनेका थिए ।
फेब्रुअरीमा अमेरिका र इजरायलले इरान माथि आक्रमण गरे यता तेहरानले स्ट्रेट अफ हर्मुजलाई प्रायः बन्द गरेको छ । यसै मार्गबाट विश्वको करिब एक चौथाइ हिस्सा तेल र तरल प्राकृतिक ग्याँसको आपूर्ति हुने गर्दछ। यसलाई पुनः सञ्चालनमा ल्याउने विषय वार्ताको मुख्य एजेन्डा बनेको छ।

ओमान यस जलमार्गको दक्षिणी भागसँग जोडिएको छ र उसले यस द्वन्द्वमा आफू तटस्थ रहेको बताउँदै आएको छ। यद्यपि, उसले इरानबाट धेरै पटक आक्रमणको सामना गरिसकेको छ र अहिले जलमार्ग पुनः सञ्चालनका लागि तेहरानसँग वार्ता गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
वासिङ्टनले पनि यो मार्ग पुनः सञ्चालन गराउन आफ्नै तर्फबाट प्रयास गरिरहेको छ। फक्सका पत्रकार ट्रे यिङस्टले ट्रम्पको भनाइ उद्धृत गर्दै भनेका छन्, ‘यदि ओमानले पनि बाटोमा अवरोध खडा गर्यो भने हामी उनीहरू माथि भीषण बमबारी गर्नेछौं।’





