
मुम्बई, २ भदौं । भारतका वरिष्ठ गायक कुमार सानूले हजारौं गीत गाएका छन ।
यद्यपि, एउटा यस्तो अवसर पनि आयो, जब उनले अन्डरवर्ल्ड डन दाउद इब्राहिमका सामु प्रस्तुति दिएका थिए ।

सानूको भनाइ छ कि त्यसबेला उनले दाउदलाई चिनेका थिएनन, जब भोलिपल्ट अखबारहरूमा उनीहरू दुवैको तस्बिर छापिएपछि मात्र उनले दाउदको पहिचानबारे थाहा पाएका थिए ।
कुमार सानु हालै ‘द लल्लनटप’को विशेष कार्यक्रम ‘गेस्ट इन द न्युजरुम’ मा देखा परेका थिए । कार्यक्रमका क्रममा उनलाई दाउदको अगाडि प्रस्तुति दिएको घटनाबारे सोधिएको थियो। सानुले बताए अनुसार, उनले सेवाको भाव वा बाध्यताका कारण त्यसो गर्नुपरेको थियो।


उनका अनुसार अनु मलिकले उनलाई दुबईमा एक युवतीको जन्मदिनको पार्टीमा लगेका थिए, जहाँ दाउद पनि उपस्थित थिए। कार्यक्रममा उपस्थित सबैले सानुलाई गीत गाउन आग्रह गरेपछि उनले मञ्चमा प्रस्तुति दिए र त्यहाँबाट फर्किए। त्यो घटना पछि सानुले दाउद वा उनको परिवारलाई फेरि कहिल्यै भेटेका भने छैनन्।

जब उनलाई त्यतिबेला डर लागेको थियो भनेर सोधियो, सानुले ठाडै अस्वीकार गरे। उनी भन्छन्, ‘त्यतिबेला मलाई यी सबै कुराको खासै जानकारी थिएन। एकजना संगीत निर्देशकले मलाई त्यहाँ लैजाँदै हुनुहुन्थ्यो, त्यसैले त्यसमा संलग्न व्यक्तिहरूसँग मेरो कुनै प्रत्यक्ष सम्बन्ध थिएन। उहाँले मलाई त्यो कसको कार्यक्रम हो भनेर बताउनुभएको थिएन, उहाँले केवल दुबईमा एउटा जन्मदिनको पार्टीमा प्रस्तुति दिनुपर्ने कुरा बताउनुभएको थियो। जब पत्रपत्रिकाहरूमा हाम्रा तस्बिरहरू छापिए, तब मात्र मलाई दाउदको बारेमा थाहा भयो। म कस्तो परिस्थितिमा फसेँ होला भन्ने त्यसपछि सोचेर मात्रै मलाई डर लाग्न थाल्यो।’
सानुले उल्लेख गरे अनुसार सन् १९८० र १९९० को दशकमा अन्डरवर्ल्ड र बलिउड बीचको सीमा धमिलिन थाल्यो। यसको एउटा मुख्य कारण चलचित्रमा अन्डरवर्ल्डको पैसा लगानी हुनु थियो, जसले गर्दा उक्त उद्योगमा उनीहरूको ठूलो प्रभाव कायम भयो। यद्यपि, सानु आफू यी सबै कुराबाट टाढै रहन रुचाउँथे । त्यसैले उनी सुरक्षित रहे र कहिल्यै पनि अन्डरवर्ल्डको नजरमा परेनन्।





