
काठमाडौं, ३ भदौं । आज तुलसीदास जयन्ती हो ।
महान भक्ति कवि, सन्त र दार्शनिक गोस्वामी तुलसीदासको जन्मजयन्तीका रूपमा मनाइन्छ। तुलसीदासलाई सनातन धर्मका सबैभन्दा लोकप्रिय र प्रभावशाली कविहरूमध्ये एक मानिन्छ।

तुलसीदासको जन्म विक्रम संवत्को १६औँ शताब्दीतिर (अन्दाजी वि सं १५८९ अर्थात १५३२० भारतको राजापुर (चित्रकूट नजिक) मा भएको मानिन्छ।


जन्मनासाथ अरू बच्चाहरू झैँ नरोई कन तुलसीदासले राम नामको उच्चारण गरेका थिए । त्यसै कारणले उनको नाम ‘रम्बोला’ रहन गएको भनी तुलसीदास प्रभु आफैले बिनायपत्रिकामा लेखेका छन् । तुलसीदास पुरापुरी १२ महिना आमाको गर्भमा रहेका र जन्मिदा नै १२ वटा दाँत सहित जन्मिएका थिए भन्ने कुरा समाजमा रहेको छ ।
तुलसीदासको जन्म पश्चात् केही दिनमा बुवाको मृत्यू भएको र परिवारमा बढ्दो सङ्कटका कारणले घरमा काम गर्ने कामदार चुनियाले उनलाई हुर्काएको तुलसीदासले लेखेका छन् । पछि चुनियाको पनि मृत्यु भएपछि रम्बोला अर्थात् तुलसीदासले दैलो दैलो गएर भिक्षा मागी जीवनयापन गरेका थिए । आफ्नो जीवनको अधिकांश काल तुलसीदासले बनारसमा बिताए । बनारसमा अहिले पनि तुलसीदासको नाममा एउटा घाटको नामकरण गरिएको छ ।

भगवान् रामका परम भक्त उनलाई भगवान् श्री रामको अनन्य भक्तका रूपमा पूजा गरिन्छ। पौराणिक मान्यता अनुसार उनलाई महर्षि वाल्मीकिकै अवतार मानिने गरिन्छ।
लोकप्रिय बनाइएको भक्ति गानको रूपमा उनको सम्झना गरिन्छ । त्यो समयमा संस्कृत भाषामा मात्र सीमित रहेका धार्मिक तथा पौराणिक ग्रन्थहरूलाई उनले आम मानिसले बुझ्ने अवधी भाषामा रूपान्तरण गरी जनमानसमा रामभक्तिको लहर ल्याएका थिए ।

तुलसीदासले धेरै प्रसिद्ध ग्रन्थहरूको रचना गर्नुभएको छ, जसमध्ये प्रमुख हुन्– श्रीरामचरितमानस । यो उनको सबैभन्दा महान् र प्रसिद्ध महाकाव्य हो। यस ग्रन्थले भगवान् रामको जीवन चरित्रलाई सर्वसाधारणको पहुँचमा पुर्याएको थियो। त्यसो त हनुमान चालीसा विश्वभरका करोडौँ श्रद्धालुहरूले दैनिक पाठ गर्ने हनुमान चालीसाको रचना पनि तुलसीदासले नै गरेका हुन । उनका अन्य कृतिहरूमा विनय पत्रिका, कवितावली, दोहावली, गीतावली, र जानकी मङ्गल आदि रहेका छन ।
तुलसीदास जयन्तीका दिन उनको योगदानको स्मरण गर्दै श्रीरामचरितमानस तथा हनुमान चालीसाको पाठ गर्ने, भजन कीर्तन आयोजना गर्ने र उनका उपदेशहरूको चर्चा गर्ने गरिन्छ। उन रचनाहरूले समाजमा भक्ति, सदाचार, र नैतिक मूल्य मान्यताको सन्देश फैलाउन ठूलो भूमिका खेलेको छ।




