
वासिंगटन डिसी, ३ भदौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता उनको वर्तमान कार्यकालकै सबैभन्दा तल्लो स्तरमा झरेको छ।
रोयटर्स र इप्सोसको एक सर्वेक्षणले ३३ प्रतिशत मानिसले ट्रम्पको कार्यसम्पादनलाई समर्थन गरेको देखाएको छ भने ६४ प्रतिशतले असहमति जनाएका छन्। यसै महिनाको सुरुमा ट्रम्पको समर्थन दर ३५ प्रतिशत थियो।

सर्वेक्षणमा ८० प्रतिशत अमेरिकीहरूले इरानमा अमेरिकी सैन्य संलग्नता लम्बिन सक्ने बताए भने १६ प्रतिशतले मात्र यो द्वन्द्व केही हप्ता भित्रै अन्त्य हुने विश्वास व्यक्त गरेका छन।


केवल २० प्रतिशत अमेरिकीहरूले मात्र इरानविरुद्धको युद्धलाई सही निर्णय मान्छन्। नोभेम्बरमा हुने मध्यावधि निर्वाचन अघि इरान युद्ध र बढ्दो इन्धनको मूल्यलाई लिएर ट्रम्प र रिपब्लिकन पार्टीप्रति चिन्ता बढेको छ।
आर्थिक व्यवस्थापनका सन्दर्भमा ३८ प्रतिशत उत्तरदाताले डेमोक्र्याटहरू प्रति विश्वास व्यक्त गरे भने ३५ प्रतिशतले रिपब्लिकन पार्टीमाथि भरोसा देखाएका छन् ।

ट्रम्पले मुद्रास्फीतिलाई नियन्त्रणमा राख्ने र दीर्घकालीन युद्धहरूबाट टाढा रहने वाचासहित चुनावी अभियान सञ्चालन गरेका थिए। सुरुमा उनले इरानसँगको तनाव केही हप्ता भित्रै अन्त्य हुने बताएका थिए। यद्यपि, इरानले दृढता प्रदर्शन गरेको छ । तनावमा केही कमी आए पनि उसले ‘स्ट्रेट अफ हर्मुज’हुँदै हुने तेलको व्यापारलाई धेरै हदसम्म ठप्प पारेको छ।
रोयटर्स र इप्सोसको एक अनलाइन सर्वेक्षणले संयुक्त राज्य अमेरिकाभरका १,१६६ वयस्कहरूलाई समेटेको थियो र यसमा त्रुटिको दायरा ३ प्रतिशत विन्दु थियो।

स्मरण रहाेस, डोनाल्ड ट्रम्पले तेहरान माथि दबाब दिने क्रम जारी राखेका छन्। उनी इरानबाट विभिन्न छुट वा सहुलियत प्राप्त गर्ने अडानमा कायमै छन्। १४ अगस्टमा उनले होर्मुज जलसन्धिलाई चाँडै नै अमेरिकी भू-भाग घोषणा गर्ने बताए, यो कदम उनले इरानलाई पराजित गरे पछि चाल्ने छन्। साथै, उनले कुनै सम्झौता नभएमा सैन्य कारबाही गरिने चेतावनी पनि दिइरहेका छन ।




