
मुम्बई, ३ भदौं । अभिनेता यश कन्नड चलचित्र उद्योगका सुपरस्टार हुन्।
आफ्ना चलचित्रमार्फत बक्स अफिसमा तहल्का मच्चाउँदै उनले प्रशंसकहरूमाझ निकै उत्साह जगाउने गरेका छन्। अब यी अभिनेता ‘टक्सिक’ चलचित्रमा देखिने छन्। आउनुहोस्, यशको अहिलेसम्मको यात्रा र उनका चलचित्रहरूको बक्स अफिस कमाइबारे चर्चा गरौँ।

यशले सन् २००७ मा ‘जाम्बाडा हुडुगी’ चलचित्रबाट आफ्नो करियर सुरु गरेका थिए, जुन चलचित्र हिट भयो र उनले अभिनयमा पाइला टेक्ने बित्तिकै निकै ठूलो प्रभाव छाडेका थिए । त्यसपछि आएको ‘मोग्गिना मानसु’ सुपरहिट साबित भयो।


यद्यपि त्यसपछि उनका दुई तीनवटा चलचित्र असफल भए तर उनले अन्ततः त्यो अवस्थालाई पार गरे र विगत १५ वर्षयता यशको कुनै पनि चलचित्र असफल भएको छैन।
यशले आफ्नो करियरमा निकै कम असफल चलचित्रहरू दिएका छन्। सन् २००८ मा रिलिज भएको उनको रोमान्टिक ड्रामा चलचित्र ‘रकी’ असफल भएको थियो। सन् २००९ मा रिलिज भएको ‘कल्लारा सन्थे’ पनि बक्स अफिसमा असफल भयो। त्यसैगरी, सन् २०११ को उनको चलचित्र ‘राजधानी’ पनि असफल रह्यो। त्यसयता यशले एउटा पनि असफल चलचित्र दिएका छैनन्।

यसपछि यश अभिनित चलचित्रहरू जस्तै, किराथाका, लक्की, जानु, ड्रामा, गुगली, राजा हुली, गजकेशरी, मिस्टर एण्ड मिसेस रामाचारी, मास्टरपिस, सान्थु स्ट्रेट फरवार्ड, केजीएफ च्याप्टर १ र केजीएफ च्याप्टर २ प्रदर्शनमा आए र ती सबै सफल भएका थिए ।
यशको सन् २०१२ को चलचित्र ‘लक्की’ सफल रह्यो। आइडीएमबीका अनुसार यो चलचित्र ३.५ करोड रुपैयाँको बजेटमा निर्माण भएको थियो र यसले ६.७ करोड रुपैयाँ कमाइ गरेको थियो। सन् २०१२ मै उनको अर्को चलचित्र ‘ड्रामा’ पनि प्रदर्शनमा आयो, जुन पनि सफल साबित भयो । यो ४ करोड रुपैयाँको बजेटमा बनेको थियो र यसले १२ करोड रुपैयाँको व्यापार गर्यो।


यशको सन् २०१३ को चलचित्र ‘राजा हुली’ पनि सफल रह्यो । यसले १२.४ करोड रुपैयाँको कमाइ गर्यो। सन् २०१३ मै आएको उनको अर्को चलचित्र ‘गुगली’ ले पनि निकै चर्चा पायो र सफल हुँदै १५.१ करोड रुपैयाँ कमायो। त्यस पछि सन् २०१४ मा आएको उनको चलचित्र ‘गजकेसरी’ पनि सफल साबित भयो, ७ करोड रुपैयाँको बजेटमा बनेको यस चलचित्रले १८.९ करोड रुपैयाँ संकलन गर्यो।
उनको चलचित्र ‘सान्थु स्ट्रेट फरवार्ड’ सन् २०१६ मा प्रदर्शनमा आएको थियो। १४ करोड रुपैयाँको बजेटमा बनेको यस चलचित्रले २०.९ करोड रुपैयाँ कमाइ गर्दै औसत भन्दा राम्रो प्रदर्शन गरेको थियो। उनको चलचित्र ‘मास्टरपिस’ सन् २०१५ मा प्रदर्शन भएको थियो, २० करोड रुपैयाँको बजेटमा बनेको यस चलचित्रले ३४.१ करोड रुपैयाँ कमाइ गरी ‘हिट’ साबित भएको थियो।
उनको चलचित्र ‘मिस्टर एण्ड मिसेस रामाचारी’ निकै सफल ‘ब्लकबस्टर’ साबित भयो, ५ करोड रुपैयाँको बजेटमा बनेको यस चलचित्रले ५० करोड रुपैयाँको कमाइ गर्यो। सन् २०१८ मा यशले ‘केजीएफः च्याप्टर १’ मा अभिनय गरे, जसले इतिहास रच्यो। ८० करोड रुपैयाँको बजेटमा निर्माण भएको यस चलचित्रले २४० करोड रुपैयाँ कमायो र सर्वकालीन ब्लकबस्टर बन्यो। बक्स अफिसमा यसको प्रतिस्पर्धा शाहरुख खानको चलचित्र ‘जीरो’सँग भएको थियो तर ‘जीरो’ यसको अगाडि टिक्न सकेन।

सन् २०२२ मा यशको ‘केजिएफः च्याप्टर २’ मा देखिए। १५० करोड रुपैयाँको बजेटमा बनेको यस चलचित्रले १ हजार २१० करोड रुपैयाँको कमाइ गर्दै सर्वकालीन ब्लकबस्टरको सफलता हासिल गर्यो।
अब, यश २६ अगस्टमा प्रदर्शन हुने चलचित्र ‘टक्सिक’मा देखिँदै छन्। यसका साथै, उनको आगामी योजनामा ‘रामायण’ चलचित्र पनि समावेश छ, जसमा उनले रावणको भूमिका निर्वाह गरेका छन् ।




