इमरान खानलाई श्रीमती र बहिनीलाई भेटन दिए पनि मिडियामा बोल्न दिइएन्

इस्लामवाद, ४ भदौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले अडियाला जेलमा आफ्नी बहिनी नोरिन नियाजी र पत्नी बुशरा बीबीसँग भेटघाट गरेका छन ।

यो भेटघाटको अवसर पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि भएको हो। नोरिनले ९ महिनाको अन्तरालपछि दाजु इमरानलाई भेटेकी हुन् ।

करिब १५ मिनेटसम्म चलेको उक्त भेटघाटका क्रममा नोरिनले इमरानको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको साथै उनले इमरानलाई उपचारका लागि शिफा इन्टरनेसनल हस्पिटल पठाउन सर्वोच्च अदालतले दिएको आदेशबारे पनि जानकारी गराएकी थिइन ।

इमरान र उनकी पत्नी बुशरा बीबीबीचको भेटघाट करिब ३० देखि ३५ मिनेटसम्म चलेको थियो । भेटपछि नोरिनले आफूले इमरानलाई भेटेको पुष्टि गरिन्, तर अदालतको निर्देशनबमोजिम उनले सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन भने अस्विकार गरेकी छिन् ।

नोरिन आफ्ना दिदीबहिनीहरू अलीमा खान र उज्मा खानका साथ अडियाला जेल जाने क्रममा दाहगल चेकपोस्ट पुगेकी थिइन्। प्रहरीले उनीहरू तीनै जनालाई रोकेको थियो । तर, पछि नोरिनलाई मात्र इमरानलाई भेट्न जेल जान अनुमति दिइयो।

मंगलबार सर्वोच्च अदालतले इमरानलाई हरेक हप्ता आफ्नो परिवारसँग भेट्न दिन आदेश दिएको थियो। अदालतले परिवारसँग भेटघाट गर्नु कुनै गुन वा विशेष सुविधा नभई एक मौलिक अधिकार भएको उल्लेख गरिएको थियो ।

अदालतले विगत तीन वर्षमा इमरान र उनका दिदीबहिनीहरूबीच भएका भेटघाटका विवरणहरू पनि मागेको छ। साथै, उनका छोराहरूसँग भएका कुराकानी र फोन कलसम्बन्धी विवरण उपलब्ध गराउन पनि निर्देशन दिएको छ।

सर्वोच्च अदालतले इमरानलाई उपचार तथा स्वास्थ्य परीक्षणका लागि शिफा इन्टरनेसनल अस्पताल पठाउन पनि आदेश दिएको छ। अदालतले उनको उपचारका लागि एउटा मेडिकल बोर्ड गठन गर्न निर्देशन दिएको छ, जसमा उनका निजी चिकित्सक र उनकी बहिनी डा. उज्मा खान पनि रहने छिन्।अडियाला जेलबाट प्राप्त मेडिकल रिपोर्टले इमरानको रक्तचाप र तनावको स्तरलाई लिएर चिन्ता व्यक्त गरेको थियो।

७३ वर्षीय इमरान खान अगस्ट २०२३ देखि जेलमा छन्। तोशाखाना प्रकरणमा तीन वर्षको सजाय सुनाइए पछि उनलाई सुरुमा पक्राउ गरिएको थियो। त्यसपछि उनीविरुद्ध साइफर, अल कादिर ट्रस्ट र इद्दत निकाह लगायतका विभिन्न मुद्दाहरू दर्ता गरिए। पछि उनले साइफर र इद्दत निकाह मुद्दामा अदालतबाट राहत पाए पनि  तोशाखाना प्रकरणको सजाय पनि स्थगित गरिएको थियो । यति हुँदाहुँदै पनि अन्य विचाराधीन मुद्दाहरूका कारण उनी अझै जेलमै छन्।

images