
काठमाडौँ । शल्यक्रियापछि छालाको क्यान्सर फेरि फर्किन नदिन तयार गरिएको व्यक्तिगत खोपले प्रारम्भिक परीक्षणमा उत्साहजनक नतिजा देखाएको छ । औषधि निर्माता कम्पनी मर्क र मोडेर्नाले विकास गरेको खोप उच्च जोखिमयुक्त मेलानोमा भएका बिरामीलाई क्यान्सरको शल्यक्रियापछि दिइएको थियो ।
खोपलाई क्यान्सर उपचारमा पहिले नै प्रयोग हुँदै आएको प्रतिरक्षा प्रणाली सक्रिय बनाउने औषधि केत्रुडासँगै दिइएको थियो । कम्पनीहरूका अनुसार खोप र औषधि संयोजन गरेर उपचार गर्दा औषधि मात्र प्रयोग गर्नेको तुलनामा बिरामीमा क्यान्सर नफर्किएको अवधि उल्लेख्य रूपमा बढेको छ । साथै क्यान्सर शरीरका अन्य अंगमा फैलिने जोखिम पनि घटेको देखिएको छ ।

तेस्रो चरणको परीक्षणमा उच्च जोखिमयुक्त दोस्रो, तेस्रो वा चौथो चरणको मेलानोमा भएका एक हजारभन्दा बढी बिरामी सहभागी थिए । परीक्षणमा केही बिरामीमा ठूलो आकारको ट्युमर रहेको थियो भने केहीमा क्यान्सर शरीरका अन्य भागमा समेत फैलिइसकेको थियो ।


यो खोप प्रत्येक बिरामीको क्यान्सरअनुसार फरक ढंगले तयार गरिन्छ । बिरामीको ट्युमरको सानो भाग शल्यक्रियामार्फत निकालेर त्यसको आनुवंशिक संरचना अध्ययन गरिन्छ । त्यसबाट क्यान्सरका कोषमा रहेका विशेष परिवर्तन पहिचान गरी बिरामीकै ट्युमरलाई लक्षित गर्ने खोप तयार गरिन्छ ।
खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई बाँकी रहेका क्यान्सरका कोष पहिचान गर्न र तिनलाई नष्ट गर्न निर्देशन दिने उद्देश्य राख्छ । यसका लागि दूत आरएनएमा आधारित प्रविधि प्रयोग गरिएको छ, जुन कोभिड-१९ विरुद्धका केही खोपमा पनि प्रयोग भएको थियो । कम्पनीहरूले फोक्सो, मूत्रथैली र मिर्गौलाको क्यान्सरका लागि पनि यस्तै व्यक्तिगत खोपको परीक्षण गरिरहेका छन् ।

मर्क र मोडेर्नाले परीक्षणको प्रारम्भिक नतिजालाई क्यान्सर उपचारका क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् । मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टेफान बान्सेलले यसलाई क्यान्सर अनुसन्धानको महत्वपूर्ण क्षण भएको बताएका छन् । क्यान्सर अनुसन्धान विज्ञहरूले पनि नतिजालाई सकारात्मक भनेका छन् । तर परीक्षणको पूर्ण नतिजा सार्वजनिक नभइसकेकाले अहिले नै अन्तिम निष्कर्ष निकाल्न हतार गर्न नहुने उनीहरूको भनाइ छ । अनुसन्धानले सम्भावना देखाएको भए पनि प्रारम्भिक तथ्यांकको पूर्ण समीक्षा हुन बाँकी रहेको बताइएको छ । अक्सफोर्ड विश्वविद्यालयका क्यान्सर विशेषज्ञ डाक्टर लेनार्ड लीले मेलानोमा भएका बिरामीका लागि यो सकारात्मक खबर भएको बताउँदै व्यक्तिगत रूपमा तयार गरिने क्यान्सर खोप प्रभावकारी हुन सक्ने आधार यसले दिएको उल्लेख गरेका छन् ।
यद्यपि परीक्षण पूरा भएपछि पनि खोप सर्वसाधारणका लागि उपलब्ध हुन नियामक निकायबाट स्वीकृति लिनुपर्नेछ । त्यसपछि स्वास्थ्य सेवामा प्रयोगका लागि थप स्वीकृति प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसैले खोप तत्कालै नियमित उपचारमा उपलब्ध हुने अवस्था भने छैन ।





