दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालकको सामुदायिक वनबाट सकुशल उद्धार

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालकलाई दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ ।

भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन् । उनी घर फर्किँदा उनका नाति साढे दुई वर्षीय शिवान तामाङ घरमा नभएको पाइएको थियो ।

स्थानीय बासिन्दा तथा छरछिमेकीले वन क्षेत्रमा खोजतलास गर्दा पनि बालक फेला नपरेपछि इलाका प्रहरी कार्यालयमा निवेदन परेको थियो । बालकको खोजीका लागि स्थानीय बासिन्दासँगै इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट टोली परिचालन गरिएको थियो ।

खोजतलासका क्रममा भदौ ४ गते बिहान करिब १० बजे बालक शिवानलाई गैँडाकोट नगरपालिका–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा फेला पारिएको थियो ।

सकुशल उद्धार गरिएका बालकलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।