
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले नगर क्षेत्रमा रहेका छाडा कुकुरको व्यवस्थापन तथा नियन्त्रणका लागि ‘डग होस्टल’ सञ्चालन गर्ने तयारी अघि बढाएको छ। छाडा कुकुरको संख्या बढ्दै जाँदा सडक सुरक्षा तथा स्थानीयवासीमा परेको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले व्यवस्थित रूपमा कुकुर व्यवस्थापन गर्ने तयारी गरेको हो।


यसैक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बागलुङमा सञ्चालनमा रहेको डग होस्टलको अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा उहाँले डग होस्टलको सञ्चालन प्रक्रिया, व्यवस्थापन, आवश्यक पूर्वाधार तथा कुकुरको संरक्षण र नियन्त्रणका विषयमा जानकारी लिनुभएको जनाइएको छ।


सन्धिखर्क नगरपालिकामा पनि डग होस्टल सञ्चालन गरी छाडा कुकुरलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्ने, आवश्यक संरक्षण तथा उपचारको व्यवस्था मिलाउने र सडकमा हुने कुकुरजन्य समस्या न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।
डग होस्टल सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारले १ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ। प्रदेश सरकारको सहयोगमा आवश्यक पूर्वाधार निर्माण तथा अन्य व्यवस्थापनका काम अघि बढाइने तयारी छ।

नगरपालिकाको यो पहल कार्यान्वयनमा आएमा सन्धिखर्क बजार तथा आसपासका क्षेत्रमा छाडा कुकुरको समस्या न्यूनीकरण हुनुका साथै सडक सुरक्षा, पशु संरक्षण र नगरको सरसफाइ व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।




