वीरगन्जको सुधार गृहबाट लागुऔषध कसुरका दाेषी किशाेर फरार

पर्सा, ६ भदौ। वीरगन्ज महानगरपालिका–४ विर्तास्थित बाल सुधार गृहबाट लागुऔषधसम्बन्धी कसुरमा सजाय भोगिरहेका १७ वर्षीय किशोर फरार भएका छन्।

प्रहरीका अनुसार ती किशोर गत मंगलबार बिहान करिब साढे ५ बजे सुधार गृहको पछाडिपट्टिको झ्यालबाट हाम फालेर फरार भएका हुन्। उनी फरार भएको चार दिन बितिसक्दा पनि प्रहरीले फेला पार्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले किशोर फरार भएलगत्तै खोजी कार्य तीव्र पारिएको बताएका छन्। सर्लाहीको गोडैता नगरपालिका घर भएका ती किशोरलाई लागुऔषधसम्बन्धी कसुरमा अदालतको फैसलापछि बाल सुधार गृहमा राखिएको थियो। अदालतको फैसला भएको करिब एक साताअघि मात्रै उनलाई सुधार गृहमा ल्याइएको प्रहरीले जनाएको छ।

बिहानको समयमा सुधार गृहको पछाडिपट्टिको झ्यालबाट बाहिरिएर उनी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
फरार किशोरको खोजीका लागि सम्भावित स्थानमा प्रहरी परिचालन गर्नुका साथै सम्बन्धित प्रहरी इकाइसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।