
अर्घाखाँची डटकम।
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा बँदेल, रातो मृग र चित्तलको सिकार गर्न लाइसेन्स खुला गरिएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीले वन्यजन्तुबाट हुने बालीनालीको क्षति तथा मानवीय जोखिम न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला सिकार अनुज्ञापत्र का लागि इच्छुक नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ११ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ९(१) बमोजिम प्रचलित कानुनको परिधिभित्र रही सिकार अनुज्ञापत्र प्रदान गरिने जनाएको छ।


डिभिजन वन अधिकृत नारायणदेव भट्टराईका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा वन्यजन्तुले बालीनालीमा क्षति पुर्याउने तथा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको अवस्थामा कानुनी व्यवस्थाअनुसार यस्तो प्रक्रिया अघि बढाइएको हो।
जारी सूचनाअनुसार अनुज्ञापत्र प्राप्त गरेका व्यक्तिले तोकिएको क्षेत्र, समय र कानुनी मापदण्डभित्र रहेर निम्न वन्यजन्तुको सिकार गर्न पाउनेछन्।

बँदेल, रातो , मृगचित्तल
सिकार गर्न इच्छुक लाइसेन्स प्राप्त हतियार भएका नेपाली नागरिकले २०८३ साल भदौ १० गतेभित्र डिभिजन वन कार्यालय, अर्घाखाँचीमा तोकिएको ढाँचामा आवेदन पेश गर्नुपर्नेछ।

आवेदनसँग निम्न कागजात पेश गर्नुपर्ने कार्यालयले जनाएको छ :
१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
२. लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र (इजाजतपत्र)।
३. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को अनुसूची–१ बमोजिमको दस्तुर तिरेको रसिद।
४. प्रचलित कानुनबमोजिम आवश्यक अन्य कागजात।
कार्यालयले सिकार अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले प्रचलित कानुनले तोकेको क्षेत्र, समय, हातहतियार तथा अन्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ। अनुज्ञापत्रबिना वा तोकिएको मापदण्डविपरीत वन्यजन्तुको सिकार गर्न नपाइने कार्यालयले स्पष्ट पारेको छ।
वन्यजन्तुबाट हुने बालीनालीको क्षति तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले अघि बढाइएको यो व्यवस्थाले किसानले भोग्दै आएको समस्या कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यससँगै वन्यजन्तु संरक्षण र सिकार व्यवस्थापनबीच सन्तुलन कायम गर्न कानुनले निर्धारण गरेको प्रक्रिया र मापदण्डको पूर्ण पालना आवश्यक हुने देखिएको छ।
अर्घाखाँचीमा पहिलोपटक होइन, तर पछिल्लो समय किसानको बालीनालीमा वन्यजन्तुबाट भइरहेको क्षति र मानव–वन्यजन्तु द्वन्द्वको विषय चर्चामा रहेकाले सिकार अनुज्ञापत्रका लागि गरिएको यो आह्वानले जिल्लामा थप चासो बढाएको छ।


#arghakhanchicom #अर्घाखाँची #सिकारअनुज्ञापत्र #बँदेल #रातोमृग #चित्तल #वन्यजन्तु #डिभिजनवनकार्यालय #सन्धिखर्क





