
काठमाडौं, ७ भदौं । फिफामा देखिएको सुशासनसम्बन्धी संकटका बीच उत्तर, मध्य अमेरिका तथा क्यारिबियन एसोसिएसन फुटबल महासंघ (कोनक्याफ)ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई युवा प्रतियोगितामा सहभागी नहुन आग्रह गरेको छ।
विश्वकपको केही हिस्सा बिक्री गर्ने आफ्नो प्रस्ताव असफल भए पछि इन्फान्टिनो माथि युरोपको युइएफए, एसियाको एएफसी र उत्तर तथा मध्य अमेरिका एवं क्यारिबियन क्षेत्रको प्रतिनिधित्व गर्ने कोन्काकाफलगायतका तीनवटा महासंघहरूबाट राजीनामा दिन दबाब परिरहेको बेला यो अनुरोध गरिएको हो ।


कोनक्याफकाका अध्यक्ष भिक्टर मोन्टाग्लियानीले फिफा प्रमुख जियानी इन्फान्टिनोलाई यस सप्ताहान्त डोमिनिकन रिपब्लिकमा हुने युवा फुटबल प्रतियोगितामा सहभागी नहुन आग्रह गरेका हुन्। उनले इन्फान्टिनोको नेतृत्वविरुद्ध बढ्दो विरोधका कारण उनको उपस्थितिमा उक्त प्रतियोगिता ओझेलमा पर्न सक्ने जनाएका छन् ।

विश्व फुटबलका क्षेत्रीय शक्तिहरूबाट अविश्वासको प्रस्तावको सामना गर्न सक्ने सम्भावना रहेका इन्फान्टिनो यस सप्ताहन्त डोमिनिकन रिपब्लिकको भ्रमणमा छन् र उनले क्यारिबियन फुटबल युनियनद्वारा आयोजित प्रतियोगितामा सहभागी हुने योजना बनाएको बताइएको छ।
शुक्रबार इन्फान्टिनोलाई पठाइएको पत्रमा मोन्टाग्लियानीले ‘फिफासँग सम्बन्धित सुशासनको संकट’लाई कारण देखाउँदै फिफा अध्यक्षलाई सिएफ यु–१४ शृङ्खलाको कार्यक्रममा सहभागी हुने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन ।

फिफा काउन्सिलका उपाध्यक्ष समेत रहेका मोन्टाग्लियानीले पत्रमा लेखेका छन, ‘तपाईंलाई थाहा नै होला, तपाईंको प्रस्तावित उपस्थितिले सञ्चारमाध्यमको निकै धेरै ध्यान आकर्षित गरेको छ, ।सञ्चारमाध्यमको ध्यान यसै परिस्थितिमा केन्द्रित हुनेछ, जसले दुर्भाग्यवश सिएफयुको युवा प्रतियोगिताको प्राविधिक पक्षलाई ओझेलमा पार्नेछ तसर्थ म फुटबलको नाममा तपाईंलाई आफ्नो उपस्थितिको निर्णयमा पुनर्विचार गर्न विनम्र अनुरोध गर्दछु किनकि यसले दुर्भाग्यवश युवा विकाससम्बन्धी यो महत्त्वपूर्ण गतिविधिका प्राविधिक पक्षलाई कमजोर बनाउनेछ।’
इन्फान्टिनो सन् २०३१ सम्मका लागि चौथो कार्यकालको प्रयासमा छन् तर धेरै राष्ट्रिय संघहरू र प्रमुख पदाधिकारीहरूले यस स्वीस प्रशासकप्रति आफ्नो समर्थन फिर्ता लिएका छन्।





