अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा

संयुक्त राज्य अमेरिका र इरानबीचको बढ्दो द्वन्द्व तथा सीमा क्षेत्रमा देखिएको तनावका कारण अफगानिस्तानका व्यापारी र श्रमिकहरूको जीविकोपार्जनमा गम्भीर संकट उत्पन्न भएको छ । अफगानिस्तान र इरानबीचको प्रमुख व्यापारिक नाका मानिने हेरातस्थित ‘इस्लाम कला’ मा यसको प्रत्यक्ष प्रभाव देखिएको छ ।

हेरात सहरबाट करिव १२० किलोमिटर दूरीमा रहेको इस्लाम कला नाका अफगानिस्तानको पश्चिमी क्षेत्रका लागि व्यापार र पारवहनको मेरुदण्ड मानिन्छ ।

यस नाकाबाट दैनिक हजारौँको संख्यामा यात्रुहरू र ठूलो परिमाणमा व्यापारिक मालसामान आयात–निर्यात हुने गर्दछ । तर पछिल्लो समय अमेरिका र इरानबीचको तनावले यस क्षेत्रको आर्थिक गतिविधिलाई सुस्त बनाएको छ ।