
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरुद्ध ‘इन्टरपोल रेड नोटिस’ जारी गर्न टर्कीले गरेको औपचारिक अनुरोध र सिरियाली सैन्य अखडामा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणपछि दुई देशबीचको कुटनीतिक सम्बन्ध थप तनावपूर्ण बनेको छ ।
टर्कीका न्यायमन्त्री अकिन गुर्लेकले शुक्रबार दिएको जानकारीअनुसार गाजाको नाकाबन्दी तोड्ने उद्देश्यका साथ गत मे महिनामा टर्कीबाट प्रस्थान गरेको ‘ग्लोवल सुमुद फ्लोटिला’ अभियानका अभियन्ताहरूलाई इजरायलले नियन्त्रणमा लिएको विषयमा टर्कीमा चलिरहेको फौजदारी मुद्दाको सिलसिलामा नेतान्याहूविरुद्ध रेड नोटिसको माग गरिएको हो ।

उक्त मानवीय सहायता अभियानका सहभागीहरूलाई इजरायलले समुद्रमै अवरोध गरी नियन्त्रणमा लिएर देश निकाला गरेको थियो ।


टर्कीको यस कदमको कडा प्रतिक्रिया दिँदै इजरायली प्रधानमन्त्रीको कार्यालयले टर्कीलाई पाखण्डीको संज्ञा दिएको छ । इजरायलले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई एन्टी–सेमिटिक (यहूदी विरोधी) तानाशाह भन्दै उनले सिरियामा आफ्नो आक्रामकता विस्तार गर्न खोजेको आरोप लगाएको छ । इजरायलले आफ्नो सुरक्षामा आँच पुग्ने कुनै पनि गतिविधिविरुद्ध कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।




