राष्ट्रिय स्वाधीनताको रक्षाका लागि शक्तिहरूबीच मोर्चा र सहकार्य आवश्यकः संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकको वर्तमान परिस्थिति असाधारण र चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर सङ्कट देखापरेको उल्लेख गर्नुभएको हो ।

संयोजक दाहालले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धिहरू क्रमशः खोसिँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

देशमाथि वैदेशिक र प्रतिक्रियावादी शक्तिहरूको दबाब एवं हस्तक्षेप बढ्दै गएको दाबी गर्दै उहाँले वर्तमान अवस्थामा विचार मिल्ने शक्तिहरूबीचको एकता र सहकार्य अपरिहार्य भएको बताउनु भयो ।