सप्तरीमा ३ वर्षीया बालिका झाडीमा मृत फेला, घटनाबारे प्रहरी अनुसन्धान सुरु

सारांश-

-शम्भुनाथ नगरपालिका–३ मा ३ वर्षीया बालिका मृत फेला

-घरबाट करिब ६० मिटर पछाडिको झाडीमा शव भेटियो

-बिहान ९ बजेसम्म बालिका घरमै रहेको परिवारको भनाइ ,  मृत्युको कारण खुल्न बाँकी

-प्रहरीले अनुसन्धान तथा आवश्यक छानबिन अघि बढायो

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी छन्।

स्थानीय इरफानकी छोरी सानिया खातुन आइतबार घरदेखि करिब ६० मिटर पछाडि रहेको झाडीमा मृत अवस्थामा फेला परेकी हुन्। परिवारका अनुसार बिहान करिब ९ बजेसम्म उनी घरमै थिइन्। त्यसपछि बालिका घरमा नदेखिएपछि परिवार तथा स्थानीयले खोजी सुरु गरेका थिए।

खोजी गर्ने क्रममा घरपछाडिको झाडीमा बालिकाको शव फेला परेको थियो। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिन अघि बढाइएको छ। प्रहरीले घटनास्थलको मुचुल्का लगायतका कानुनी तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

बालिकाको मृत्युको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ। मृत्यु स्वाभाविक हो वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताइएको छ।

images

घटनापछि घटनास्थलमा स्थानीयको बाक्लो भीड लागेको छ। तीन वर्षीया बालिकाको मृत्युको खबरले स्थानीय क्षेत्रमा शोक र त्रासको अवस्था सिर्जना भएको छ।

 

images