
माले, ८ भदौं । माल्दिभ्स सरकारले भ्यापिङ अर्थात इ चुरोटमा प्रतिबन्ध लगाएको छ।
युवाहरूमा निकोटिनको लतको दर घटाउने उदेश्यका साथै धुम्रपानका लागि कानुनी उमेर बढाउने र ई चुरोटमा कर वृद्धि गर्ने कदमले तिनको प्रयोगलाई निरुत्साहित गर्ने विश्वास लगाएको छ ।

सरकारी सञ्चारमाध्यम पब्लिक सर्भिस मिडियाका अनुसार माल्दिभ्स सरकारले यसै महिनाको सुरुमा भ्यापिङ उपकरणहरूको प्रयोग र बिक्रीमा देशभर प्रतिबन्ध लागू गरेको हो।


यो प्रतिबन्ध राष्ट्रपति मोहम्मद मुइज्जुले नोभेम्बर १३ मा ‘सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन’ मा गरेको संशोधनलाई प्रमाणीकरण गरे पछि कार्यान्वयनमा आएको हो। संशोधित व्यवस्थाको कानुन लागु भएसँगै यस वर्षको डिसेम्बर १५ देखि ई चुरोट र भ्यापिङ उपकरणहरूको बिक्री, निःशुल्क वितरण र प्रयोग गैरकानुनी मानिनेछ ।
सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार प्रतिबन्ध लागू भएपछि माल्दिभ्समा भ्यापिङ उपकरण आयात गर्ने कुनै पनि व्यक्ति वा संस्थाले ५० हजार माल्दिभियन रुफिया अर्थात करिब ३ हजार २५० अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ।

एडीके अस्पतालका प्रबन्ध निर्देशक तथा माल्दिभ्सको सुर्तीजन्य पदार्थ नियन्त्रण बोर्डका उपाध्यक्ष अहमद अफालले यस प्रतिबन्धलाई सकारात्मक कदमको संज्ञा दिएका छन्। उनका अनुसार यो नयाँ नियम मानिसहरूको निरन्तर प्रयास र उच्च तहको राजनीतिक इच्छाशक्तिका कारण कार्यान्वयनमा ल्याउन सम्भव भएको हो।
प्रतिबन्धलाई प्रभावकारी बनाउन ‘राष्ट्रिय सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन’ अन्तर्गत अन्य कदमहरू पनि चालिएका छन् । जस्तै धुम्रपानका लागि कानुनी उमेर १८ बाट बढाएर २१ पुर्याइएको छ भने र अन्य सुर्तीजन्य उत्पादनहरूमा कर वृद्धि गरिएको छ।


‘निश्चय नै यसबाट माल्दिभ्सलाई विशेष गरी यसको स्वास्थ्य प्रणाली र जनस्वास्थ्यमा हुने खर्चका सन्दर्भमा दीर्घकालीन फाइदा पुग्नेछ,’ अफालले भने।
नीति विज्ञ तथा सुर्तीजन्य पदार्थ विरोधी विधेयकका पक्षधर अफालका अनुसार भ्यापिङविरुद्धको यो कदम लामो समयदेखि एजेन्डाको रूपमा रहेको थियो। सुर्तीजन्य पदार्थ नियन्त्रण बोर्डले सुरुमा सन् २०१९ मा नै यो प्रतिबन्धको प्रस्ताव गरेको थियो र मन्त्रिपरिषद्ले यसलाई स्वीकृतसमेत गरेको थियो।
उनले उल्लेख गरेअनुसार, विशेष गरी अभिभावकहरूबाट माल्दिभ्स सरकारमाथि कदम चाल्न दबाब थियो, किनकि ८ वर्षसम्मका बालबालिकाहरू समेत भेपिङ उपकरण प्रयोग गरिरहेको अवस्थामा भेटिएका थिए।

‘देशको कुल जनसंख्याको करिब आधा हिस्सा १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरूको छ, त्यसैले कुनै ठोस कदम नचालिएमा भेपिङप्रतिको आकर्षण अझ बढ्ने देखिन्छ,’ शरिफले भने, ‘माल्दिभ्स एक्लो छैन, करिब ४० राष्ट्र तथा क्षेत्रहरूले ई चुरोट माथि प्रतिबन्ध लगाइसकेका छन् भने अन्य १०० वटा अधिकार क्षेत्रहरूले भेपिङविरुद्ध कडा नियमहरू लागू गरेका छन्,’ उनले भने ।




