

-बसन्त खड्का / अर्घाखाँची डटकम्

अर्घाखाँची । अर्घाखाँचीको धार्मिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, अर्घाखाँचीको आयोजनामा अर्घा मन्दिर परिसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सन्धिखर्क नगरपालिका–९, अर्घामा आयोजित कार्यक्रममा अर्घाखाँचीका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई एकआपसमा जोड्दै जिल्लाको पर्यटन गतिविधिलाई थप चलायमान बनाउने विषयमा छलफल गरिएको थियो।

विशेषगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित सुपादेउराली मन्दिर तथा नरपानी क्षेत्रमा आउने श्रद्धालु तथा पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा रहेका भगवती मन्दिर, मसुरेपाटालगायतका धार्मिक तथा पर्यटकीय स्थलसम्म पुर्याउने वातावरण निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।


कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा प्राज्ञिक व्यक्तित्व, मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि, युवा, धर्म–संस्कृति, कला तथा साहित्य क्षेत्रमा रुचि राख्ने व्यक्तिहरू, व्यवसायी तथा पत्रकारलगायतको सहभागिता रहेको थियो।



अन्तरक्रियाका क्रममा अर्घा क्षेत्रका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्भावनालाई व्यवस्थित रूपमा उजागर गर्दै जिल्लाको पर्यटन प्रवर्द्धनसँग जोड्न सकिने विभिन्न कार्यक्रमबारे सहभागीहरूले सुझाव दिएका थिए।
आयोजकका अनुसार आगामी दिनमा अर्घाको पर्यटन विकासका लागि स्वदेश तथा विदेशमा रहेका अर्घाखाँचीवासी तथा शुभेच्छुकहरूसँग समेत व्यापक छलफल र सुझाव संकलन गरिनेछ। त्यसपछि यसै भदौ महिनाको अन्तिम साताभित्र अर्को चरणको छलफल गरी सम्भावित कार्यक्रमलाई थप ठोस रूप दिने निर्णय गरिएको छ।
अर्घाका धार्मिक तथा पर्यटकीय स्थललाई जिल्लाको समग्र पर्यटन सर्किटसँग जोड्न सके स्थानीय उत्पादन, व्यवसाय तथा रोजगारी प्रवर्द्धनसँगै सन्धिखर्क बजार क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्न सकिने सहभागीहरूको धारणा थियो।

तस्वीर : बसन्त खड्का / अर्घाखाँची डटकम्





