
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपालमा एसियाली विपद् पूर्वतयारी केन्द्रको उपकेन्द्र स्थापना गर्ने सम्बन्धमा नेपाल र एसियाली विपद् पूर्वतयारी केन्द्रबीच आज परराष्ट्र मन्त्रालयमा सम्झौता भएको छ । सम्झौतामा परराष्ट्र मन्त्रालयका सहसचिव विष्णुप्रसाद गौतम र केन्द्रका कार्यकारी निर्देशक अस्लाम परवाइजले हस्ताक्षर गरेका छन् । कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राई तथा गृहसचिव एवं केन्द्रको सञ्चालक समितिका अध्यक्ष राजकुमार श्रेष्ठको उपस्थिति थियो । नेपालमा उपकेन्द्र स्थापना भएपछि विपद् प्रतिरोधी क्षमता थप मजबुत बनाउन तथा दिगो विकासलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । एसियाली विपद् पूर्वतयारी केन्द्र गैरनाफामूलक अन्तरसरकारी संस्था हो । नेपाल सन् २०२५–२०२६ का लागि केन्द्रको सञ्चालक समितिको अध्यक्षसमेत रहेको छ ।


२- अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ‘ए’ ले पहिलो जित हासिल गरेको छ । नेपाल ए ले सोमबार सम्पन्न खेलमा होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएको १५५ रनको लक्ष्य पछाएको होबर्ट हुरिक्यान्स एकेडेमीले १८.३ ओभरमा अलआउट हुदै ११५ रन मात्र बनाएको थियो । होबर्ट हुरिक्यान्स एकेडेमीका लागि नितेश सामुएलले सर्बाधिक ३७ रन बनाए भने टिम वार्डले २३ र कप्तान निभेथान राधाकृष्णनले २० रन बनाएका थिए । त्यसैगरी, नेपाली बलर नारायण जोशीले ३ विकेट लिए भने शाहाब आलम र पवन सराफले २-२ विकेट तथा विपिन खत्रीले एक लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाउदै १५४ रन बनाएको थियो । नेपाल ए का लागि कुशल भुर्तेलले सर्बाधिक ३९ रन बनाए भने मयन यादवले ३१, कप्तान अनिल शाहले २८ र लोकेश बमले २० रन बनाएका थिए । त्यस्तै होबर्ट हुरिक्यान्स एकेडेमीका राफ म्याकमिलनले ३ र मार्कस बीनले २ विकेट लिएका थिए । यसअघि लगातार दुई खेल हारेको नेपाल ए को यो पहिलो जित हो । नेपाल ए ले अर्को खेल अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ ।

३- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्धको रिटमा उच्च अदालत पाटन, हेटौंडा इजलासले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै मुख्यमन्त्री नियुक्तिको निर्णय किन बदर हुनु नपर्ने हो, त्यसको आधार र प्रमाणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । मुख्यमन्त्री मगरको नियुक्ति प्रक्रिया संविधान विपरीत रहेको दाबी गर्दै अधिवक्ता मोहनप्रसाद ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले भदौ ५ गते छुट्टाछुट्टै उत्प्रेषण रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेशका सम्बन्धमा भने आगामी भदौ १० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त थापामगरले राप्रपाको समर्थन लिएको विश्व विवादित बनेको छ । राप्रपाको संसदीय दलका नेता उद्धव थापाले केन्द्रको निर्देशन विपरित थापालाई समर्थन गरेपछि विवाद बढेको छ ।
४- इरानको संसद्ले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजबाट शुल्क लिने प्रस्ताव स्वीकृत गरेको छ । इरानको मेहर समाचार संस्थाका अनुसार होर्मुज हुँदै जान अनुमति पाउने देशका जहाजबाट समुद्री सेवा, सुरक्षा र बिमालगायत सुविधाबापत शुल्क लिइनेछ । शुल्कबापत वातावरणीय सेवा तथा विशेष परिस्थितिमा इन्धनसमेत उपलब्ध गराइने जनाइएको छ । शुल्क इरानी मुद्रा वा इरानले तोकेको अन्य मुद्रामा तिर्न सकिनेछ । यसैबीच अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले इरानविरुद्ध आर्थिक दबाब बढाउने अभियान निर्णायक चरणमा पुगेको बताएका छन् । अमेरिकाले इरानको आम्दानीका प्रमुख स्रोत बन्द गर्ने उद्देश्यले आफ्ना सबै सरकारी निकाय र अधिकार प्रयोग गर्ने उनको भनाइ छ । इरानले अमेरिकाको आर्थिक प्रतिबन्धमा साथ दिने खाडी देशहरूलाई पनि चेतावनी दिएको छ । इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसिन रेजाईले इरानमाथि प्रतिबन्ध लगाउन अमेरिकालाई सहयोग गर्ने देशलाई शत्रुका रूपमा व्यवहार गरिने बताएका छन् । यसैबीच इरानलाई मक्का रक्षा सम्झौतामा सहभागी हुन निमन्त्रणा आएको दाबी गरिएको छ । इरानी संसद्सँग सम्बन्धित मेहदी रहिमीले इरानले निमन्त्रणा पाएको र त्यसबारे विचार भइरहेको बताएका छन्। तर इरानको विदेश मन्त्रालय तथा सम्झौताका संस्थापक देश साउदी अरब, टर्की र पाकिस्तानले यसको आधिकारिक पुष्टि गरेका छैनन् । साउदी अरब, टर्की र पाकिस्तानले गत अगस्ट ७ गते मक्कामा पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार तीनमध्ये कुनै एक देशमाथि भएको आक्रमणलाई तीनै देशमाथिको आक्रमण मानिने व्यवस्था छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय होर्मुज जलडमरूमध्यलाई अमेरिकी क्षेत्रका रूपमा चित्रित गर्दै आएका छन् । अमेरिका र इरानबीच तनाव बढेपछि जलडमरूमध्यमा जहाज आवतजावतका लागि इरानतर्फको उत्तरी मार्ग र ओमानतर्फको दक्षिणी मार्गबारे विवाद बढेको छ । होर्मुज विश्वको महत्वपूर्ण तेल तथा समुद्री व्यापार मार्गमध्ये एक हो । यसको सुरक्षालाई लिएर अमेरिका र इरानबीच बढिरहेको तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत प्रभाव पार्न सक्ने चिन्ता बढेको छ ।

५- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ गएको विषयमा प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्री पदको निजी जीवन नहुने भन्दै मुस्ताङ गएको विषयमा सदनमा जवाफ दिनुपर्ने बताएका हुन् । उनले भने- ‘प्रधानमन्त्री ज्यू आफ्नो निजी भ्रमणमा उता जानु भयो भन्ने कुरा आएको छ, प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुदैन, यो कुरा हेक्का राख्नुपर्छ, उहाँ मन्त्रिपरिषद्, संसदलाई सूचना नदिइ जानुभएको ? के खान जानुभएको ? हावा थिएन भने काठमाडौंमा हावा छ । मुस्ताङमा स्याउ पनि फलेको थिएन होला अहिले । के चाख्न जानुभएको हो, त्यो भन्नुपर्छ । सदनमा जवाफ दिनुपर्छ ।’
६- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम आफ्नो पहिलो विदेश भ्रमणका क्रममा युक्रेन पुगेका छन् । उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् भने युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । युक्रेनको स्वतन्त्रताको ३५औँ वार्षिकोत्सवका अवसरमा किभस्थित सेन्ट सोफिया गिर्जाघरअगाडि आयोजित कार्यक्रममा बोल्दै बर्नहमले रुसविरुद्ध युक्रेनले गरिरहेको प्रतिरोधलाई नाजी जर्मनीविरुद्ध बेलायतले गरेको संघर्षसँग तुलना गरेका छन् । उनले आगामी जाडोयामअघि युक्रेनको हवाई सुरक्षा क्षमता थप बलियो बनाउन बेलायतले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बर्नहमले रुसबाट बेलायतलाई दिइएका धम्कीका बाबजुद युक्रेनलाई निरन्तर सहयोग गरिरहने बताएका छन् । उनले रुसमाथि दबाब कायम राख्ने र युद्धका लागि आवश्यक आर्थिक स्रोत जुटाउने उसको क्षमता कमजोर पार्ने समय आएको बताएका छन् । बर्नहमले युक्रेनी जनताको प्रतिरोध क्षमतालाई असाधारण भन्दै युक्रेनले युरोपको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरेका छन् । उनले युक्रेन युरोपको सुरक्षामाथि बोझ नभई युरोपलाई सुरक्षित राख्ने अग्रपंक्तिमा रहेको बताएका छन् । युक्रेनी जनताले निरन्तर सहयोगसँगै बेलायत र युरोपको सम्मान तथा कृतज्ञता पनि पाउनुपर्ने उनको भनाइ छ । बेलायतले रुसविरुद्धको युद्धमा सहयोग पुर्याउन युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र निर्माणसम्बन्धी गोप्य प्रविधि उपलब्ध गराउने भएको छ । यससँगै युक्रेनमै स्काल्प क्षेप्यास्त्र उत्पादन गर्ने बाटो खुल्नेछ । बेलायतमा यही क्षेप्यास्त्रलाई स्टोर्म स्याडो भनिन्छ । युरोपेली हतियार निर्माता एमबिडीएले निर्माण गरेको स्काल्प विमानबाट प्रहार गर्न सकिने लामो दूरीको क्षेप्यास्त्र हो । यसको मारक क्षमता करिब ५५० किलोमिटर रहेको छ । यसमा करिब ४०० किलोग्राम विस्फोटक पदार्थ राख्न सकिन्छ । बेलायतको निर्णयप्रति रुसले कडा असन्तुष्टि जनाएको छ । बेलायतस्थित रुसी दूतावासले बेलायतले जानाजानी युद्धलाई थप चर्काइरहेको आरोप लगाउँदै युद्धमा बेलायतको संलग्नता बढ्दै गए त्यसको मूल्य पनि चुकाउनुपर्ने चेतावनी दिएको छ । यसैबीच बेलायती प्रधानमन्त्री बर्नहमले युक्रेनको सुरक्षालाई बेलायतको सुरक्षासँग जोड्दै आफ्नो देश लामो समयसम्म युक्रेनको साथमा रहने बताएका छन् । युक्रेनले पनि आफ्नै लामो दूरीका क्षेप्यास्त्र र ड्रोन निर्माण क्षमता विस्तार गरिरहेको छ । युक्रेनी कम्पनी फायर पोइन्टले करिब ३ हजार किलोमिटरसम्म मार हान्न सक्ने एफपी-५ फ्लेमिङ्गो क्षेप्यास्त्र निर्माण गरेको दाबी गरिएको छ । यसको बढ्दो लामो दूरीको आक्रमण क्षमताले रुसमाथि थप दबाब बढाएको छ ।


७- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । कोशी प्रदेश सभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् । मत विभाजनमा विश्वासको मतको पक्षमा ५७ मत परेको थियो भने विपक्षमा २२ मत परेको थियो । त्यस्तै ४ मत तटस्थमा परेको थियो । ९२ सदस्य कायम रहेको कोशी प्रदेश सभाको आजको मत विभाजनमा ८३ सांसद उपस्थित रहेका थिए । ९२ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । हाल एमालेका ४० र नेपाली कम्युनिष्ट पार्टीका १७ सांसद छन् । प्रदेशसभामा कांग्रेसका २९, एमालेका ४०, नेपाली कम्युनिष्ट पार्टीका १७, राप्रपाका ५ र जसपाका १ सांसद छन् भने राप्रपाका पाँसभामुखसहित पाँच सांसद छन् । यसअघि कांग्रेसले भदौ ३ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । कांग्रेसले समर्थन फिर्ता लिए पनि एमालेले नेपाली कम्युनिष्ट पार्टीलाई सरकारमा सहभागी गराएर नयाँ सत्ता समीकरण बनाएको छ । मुख्यमन्त्री कार्कीले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८१ वैशाख २७ मा मुख्यमन्क्री नियुत्त भएपछि उनले वैशाख ३१ मा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यसबेला प्रदेशसभामा उपस्थित ६२ सांसदमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने पाँच जना तटस्थ बसेका थिए । त्यसपछि सत्ता समीकरण फेरिएर एमाले र कांग्रेसबीच सहकार्य बनेपछि कार्कीले २०८१ असोज २ मा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला ८३ सांसदले मतदानमा भाग लिएकोमा उनको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो ।
८- काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत रिट पेश गरेका छन् । सोमबार देउवा र खड्काले अलग अलग रिट पेश गरेका हुन् । नेता खड्काले सर्वोच्चमा विचाराधीन मुद्दासँगै राखेर सुनुवाइ गर्न माग गर्दै पूरक रिट दर्ता गर्न निवेदन दिएका हुन् । त्यस्तै अर्का नेता दीपक खड्काले देउवाको तर्फबाट रिट पेस गरेका छन् । रिट अध्ययनको क्रममा रहेकोले दर्ता नभएको बुझिएको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार रिट अध्ययनकै क्रममा रहेका छन् । यसअघि देउवा पक्षले शुक्रबार पेश गरेको रिट भने फिर्ता लिएका थिए ।
९- नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका ८५ लाख ७२ हजार ९७० कित्ता शेयर ३ अर्ब २३ करोड ९७ लाख ६० हजार ५४९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने धौलागिरी लघुवित्तको शेयर ११.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी पन्चकन्या माई हाइड्रोको शेयर ९.८३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको १२ करोड ७२ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको ११ करोड ८८ लाख बराबरको कारोबार भएको छ ।

१०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जनताको सरकारप्रतिको प्रभाव र विश्वास घट्दै गएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताउदै समाजमा अपराध बढेको बताएका हुन् । उनले भने- ‘यो हाम्रो समाज कता गइरहेको छ, यो दुईटा घटनालाई मात्रै हेर्न मिल्दैन । हाम्रो सरकार बनेदेखि चाहे कप्तानगन्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या विभिन्न किसिमका आन्दोलन होस् चाहे मिटरब्याज, लघुवित्त पीडित, डाक्टरको होस् । यसले के देखाउछ की हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ । अराजकता, अस्थिरता, हत्या, हिँसा, बलात्कार र विभिन्न किसिमका आन्दोलनले जनता दुखमा छन् । जब समाजमा बेथिति हुन्छ, विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ ।’ सांसद सिंहले समाजमा विश्वास र भरोसा उठेपछि समाजमा अपराध बढ्ने बताएका छन् ।
११- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै सभामुखलाई पत्र लेखेका छन् । अध्यक्ष लिङदेनले पार्टीको निर्णयअनुसार थापाले पार्टीका विभिन्न निर्णय तथा निर्देशन उल्लंघन गर्दै संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्तिका लागि राप्रपाका सांसदहरूको तर्फबाट समर्थन जनाएको उल्लेख गर्दै पदमुक्त गर्न पत्रमा लेखेका छन् । उनले पार्टीको नीति, निर्देशन र विधानविपरीत काम गरी गम्भीर अनुशासन उल्लंघन गरेकोले थापालाई प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरिएको बताएका छन् । गत भदौ ४ गते बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले थापालाई पार्टीबाट निलम्बन गर्ने र प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस गर्ने निर्णय गरेको थियो । लिङदेनले सभामुखलाई लेखेको पत्रका साथमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय, बागमती प्रदेश संसदीय दलको निर्णय, संसदीय दललाई पार्टीले दिएको निर्देशन, अनुशासन समितिको स्पष्टीकरण, अनुशासन समितिको सिफारिस, बागमती प्रदेश प्रमुखलाई पठाइएको पत्र समाबेश गरिएको उल्लेख गरेका छन् ।
१२- नागढुंगा सुरुङमार्गमा सोमबारदेखि निजी कार, जिप र भ्यानलाई पनि आवागमन खुला गरिएको छ । यसअघि सुरुङमा आपत्कालीन, एम्बुलेन्स र सरकारी सवारीलाई मात्र सञ्चालनको अनुमति दिइएकोमा आजदेखि ९ सिटसम्मका निजी कार, जिप र भ्यानलाई पनि आवागमन खुला गरिएको हो । सुरुङ बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ भने सुरुङभित्र सवारीको गति प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गर्न, सवारी रोक्न र ओभरटेक गर्न नपाइने व्यवस्था गरिएको छ । सवारी चलाउँदा हेडलाइट बाल्न अनिवार्य गरिएको छ । सुरुङको नियमित सञ्चालनका लागि सुरक्षा टोली, शुल्क संकलन तथा अन्य आवश्यक व्यवस्थापन गरिएको छ । सुरुङभित्र हुने गतिविधिको निगरानी दृश्य निगरानी प्रणालीमार्फत गरिनेछ । पैदलयात्री, दुईपाङ्ग्रे सवारी तथा पेट्रोल, डिजेललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई सुरुङ प्रवेश निषेध गरिएको छ । सुरुङ प्रयोग गरेबापत कार तथा भ्यानले काठमाडौँतर्फ जाँदा ६५ र काठमाडौँबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै मिनीबस र टिपरले काठमाडौँतर्फ जाँदा ११५ तथा बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले क्रमशः २६० र २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। हेभी ट्रकका लागि काठमाडौँतर्फ ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको छ । करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नागढुंगा सुरुङमार्ग नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो । यसको मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ भने २.५५७ किलोमिटरको आपत्कालीन सुरुङसमेत निर्माण गरिएको छ । २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । सुरुमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९, मुआब्जा विवादलगायत कारणले आयोजना सम्पन्न हुन ढिलाइ भएको थियो । सुरुङमार्गको साउन ११ मा नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले उद्घाटन गरेका थिए । जापान सरकारको ऋण सहयोग र नेपाल सरकारको लगानीमा निर्माण भएको यो सुरुङमार्ग जापानको हाज्मा आन्दो कर्पोरेसनले निर्माण गरेको हो ।
१३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यले गृहमन्त्रालयमा गरिमा चौधरीका अभिभावकले धन्यवाद भनेको भिडियो खिचिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले गरिमा चौधरीका अभिभावकले धन्यवाद भनेको भिडियो खिचिएको भन्दै कस्तो समाज बनाउन लागेका छौं भन्दै प्रश्न गरेका छन् । साथै गरिमाको हत्याको घटनामा दोषी भनिएका युवकको भिडियो समेत सार्बजनिक गरिएको भन्दै उनले आपत्ति जनाएका छन् । उनले भने- म गरिमा चौधरीको हत्याकाण्डको बारेमा धेरै बोलिन, तर हामीसबै जनाले मनन गर्नुपर्ने कुरा के हो भने हामीले कस्तो समाज बनाइरहेका छौं, जहाँ मृतकका बुबा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र दोषी भनिएका व्यक्तिले बोलेका कुरालाई सार्बजनिक गरिन्छ, यस्तो समाज बन्द गरिनुपर्छ ।’

१४-न्युजील्यान्डमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने विधेयक संसदमा पेस गर्ने भएको छ । प्रधानमन्त्री क्रिस्टोफर लक्सनले सामाजिक सञ्जालबाट बालबालिकामा भइरहेको असर रोक्न विधेयक ल्याउन लागिएको बताएका छन् । प्रस्तावित विधेयकअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीले प्रयोगकर्ताको उमेर पुष्टि गर्नुपर्ने, नियम उल्लङ्घन गर्ने कम्पनीलाई विश्वव्यापी आम्दानीको १० प्रतिशतसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ । लक्सनले सामाजिक सञ्जालका हानिकारक सामग्री, लत लाग्ने प्रविधि र विभिन्न दबाबका कारण बालबालिकाको पारिवारिक जीवन, मानसिक स्वास्थ्य, निद्रा र शिक्षामा असर परेको बताएका छन् । तर गठबन्धनमा रहेको न्युजील्यान्ड फर्स्ट पार्टीले भने विधेयकको समर्थन नगर्ने जनाएको छ । यसअघि अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुन लागू गरेको थियो । न्युजील्यान्डका प्रधानमन्त्री लक्सनले सबै बालबालिकालाई सामाजिक सञ्जालबाट पूर्ण रूपमा रोक्न कठिन भए पनि उनीहरूको सुरक्षाका लागि प्रयास गर्न आवश्यक रहेको बताएका छन् ।
१५- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मागरले आज लिने विश्वासको मतमा विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्वीप जारी गरेको छ । पार्टीले विपक्षमा मतदान गर्न नसक्ने अवस्थामा तटस्थ रहन वा बैठकमा अनुपस्थित हुनसमेत ह्विप जारी गरेको हो । बागमती प्रदेशसभामा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले जारी गरेको ह्विप पार्टीका सबै प्रदेशसभा सदस्यलाई पठाइएको बताइएको छ । अर्कोतर्फ राप्रपा प्रमुख सचेतकको हैसियतमा डम्बर तामाङले अर्को ह्वीप जारी गर्दै बैठकमा अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री थापालाई विश्वासको मत दिन निर्देशन दिएका छन् । उनले भदौ ७ गतेको दलको संसदीय दलको बैठकको निर्णय र संसदीय दलका नेताको आदेश तथा राप्रपा संसदीय दलको विधान अनुसार विश्वासको मत दिन ह्वीप जारी गरेका छन् । सरकारलाई समर्थन दिदा नै राप्रपामा विवाद भएपछि राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशित गरेको छ । त्यस्तै, राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पार्टीको निर्णय र निर्देशनबिना बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण मागेको छ । सांसदहरु राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पूर्ण सफाइको मौका दिँदै १२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न समय दिइएको श्रेष्ठले बताएका छन् । उनीहरूलाई टेलिफोन, सन्देश तथा अन्य माध्यममार्फत स्पष्टीकरणसम्बन्धी सूचना पठाइएको राप्रपाले जनाएको छ ।

१६- दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले बैंक, सहकारी, लघुवित्त तथा मिटरब्याजपीडितका विषयमा भएको १४ बुँदे सहमति आफूहरूलाई मान्य नभएको जनाएको छ । अभियानले सर्लाहीको हरिवनबाट सुरु भएको पीडित नागरिकको पैदल यात्राका क्रममा काठमाडौं आइपुगेका नागरिकलाई सरकारले बेवास्ता गरेको आरोप लगाएको छ । अभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंलाई घरमै नजरबन्दमा राखेर केही व्यक्तिलाई अघि बढाउँदै अभियान कमजोर पार्ने प्रयास गरिएको दाबि अभियानले गरेको छ । तत्कालीन प्रधानमन्त्री शुशिला कार्की र दुर्गा प्रसाईंबीच भएको १२ बुँदे सम्झौतालाई बेवास्ता गर्दै गरिएको १४ बुँदे सहमतिले पीडितका समस्या समाधान गर्नुको सट्टा झन् समस्या बढाउने काम गरेको अभियानले जनाउदै पीडित नागरिकलाई धैर्य गर्न आग्रह गर्दै आन्दोलन जारी रहेको बताएको छ । अभियानले वित्तीय पीडित नागरिकलाई नागरिकता, व्यक्तिगत विवरण वा अन्य कागजात कसैलाई नदिन पनि आग्रह गरेको छ । आधिकारिक निर्देशनबिना व्यक्तिगत विवरण संकलन नगर्न र नगराउन आग्रह गर्दै त्यस्ता विवरणको दुरुपयोगबाट पीडितलाई थप जोखिममा पर्न नदिन सावधानी अपनाउन अभियानले अनुरोध गरेको छ ।
१७- नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३२ सयले बढेर तोलाको ३ लाख २२ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख १९ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४९६५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४९७५ मा कारोबार भएको थियो ।
१८- स्पेनिस ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले शानदार सुरुआत गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एल्चेलाई उसकै मैदानमा ५-० गोल अन्तरले ले पराजित गर्दै उपाधि रक्षा अभियानलाई प्रभावशाली ढंगले शुरुवात गरेको हो । एल्चेको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि राफिन्हाले दुई तथा फर्मिन लोपेजले दुई गोल गरेका थिए । त्यस्तै नयाँ खेलाडी करिम अदेयेमीले पनि बार्सिलोनाका लागि पहिलो खेलमै गोल गरे । राफिन्हाले खेलको १४औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । एल्चेका भिक्टर चुस्तले राफिन्हामाथि गरेको फाउलपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । पहिलो हाफको थप गरिएको समयको दोस्रो मिनेटमा राफिन्हाकै पासमा अदेयेमीले गोल गरेपछि बार्सिलोना २-० ले अघि रहेको थियो । दोस्रो हाफमा बार्सिलोनाले अझ आक्रामक खेल प्रस्तुत गर्यो । खेलको ६७औँ मिनेटमा एन्थोनी गोर्डनको पासमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गरे । त्यसको चार मिनेटपछि गोर्डनकै पासमा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनाको अग्रता ४-० बनाए । लोपेजले ७९औँ मिनेटमा जाभी एस्पार्टको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित ५-० मा निश्चित गरे । यससँगै राफिन्हा र लोपेजले नयाँ सिजनको पहिलो खेलमै दुई-दुई गोल गरेका छन् । यस जितसँगै बार्सिलोनाले लगातार तेस्रो पटक ला लिगाको उपाधि जित्ने लक्ष्यसहित नयाँ सिजनको बलियो सुरुआत गरेको छ । एल्चेविरुद्धको यो जितसँगै बार्सिलोनाको एल्चेविरुद्ध सबै प्रतियोगितामा लगातार १३औँ जितसमेत भएको छ ।
१९- इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई २-१ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ । उता गएराती नै सम्पन्न अर्को खेलमा लिभरपुल भने न्युक्यासल युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको छ । इतिहाद रंगशालामा भएको खेलमा बोर्नमाउथले २६औँ मिनेटमा मार्कस टाभर्नियरको गोलबाट अग्रता लिएको थियो । घरेलु टोलीले लगातार दबाब बनाए पनि लामो समयसम्म गोल गर्न सकेन । म्यानचेस्टर सिटीले ८४औँ मिनेटमा बराबरी गोल फर्कायो । रयान चेर्कीको कर्नर प्रहारबाट आएको बललाई मार्क गुहेले हेडमार्फत गोल गर्दै खेल १-१ को अवस्थामा पुर्याएका थिए । त्यसपछि थप समयको पहिलो मिनेटमा जोस्को ग्भार्डियोलले गोल गर्दै सिटीलाई २-१ को रोमाञ्चक जित दिलाएका हुन् । उनको गोललाई सुरुमा अफसाइड दिइए पनि भिडियो सहायक रेफ्रीको जाँचपछि गोल मान्यता दिइएको थियो । यस जितसँगै नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा म्यानचेस्टर सिटीले लिगमा विजयी सुरुआत गरेको छ । खेलमा सिटीले बलमा ६६ प्रतिशत नियन्त्रण राख्दै बोर्नमाउथमाथि लगातार दबाब बनाएको थियो । अर्कोतर्फ सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युक्यासल युनाइटेड र लिभरपुलले २-२ गोलको बराबरी खेलेका छन् । न्युक्यासलका एन्थोनी इलाङ्गाले पाँचौँ मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि, लिभरपुलका कोडी गाक्पोले ५५औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । न्युक्यासलका जो विलकले ५८औँ मिनेटमा पुनः गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए । खेलको थप समयको नवौँ मिनेटमा लिभरपुलले पेनाल्टी पायो । डोमिनिक सोबोस्लाईले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-२ को बराबरीमा पुर्याए र हारबाट बचाएका थिए । त्यससँगै लिभरपुलले हारबाट जोगिँदै एक अंक जोडेको छ । न्युक्यासल र लिभरपुलबीचको खेल पूर्व न्युक्यासल तथा लिभरपुलका चर्चित खेलाडी र प्रशिक्षक केभिन किगनको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमसमेत गरिएको थियो । किगनको जुलाईमा ७५ वर्षको उमेरमा निधन भएको थियो ।
२०- अन्तरिक्ष क्षेत्रमा नयाँ प्रविधिको परीक्षण गरिरहेको स्पेसएक्सको सबैभन्दा महत्वाकांक्षी रकेट परियोजना स्टारशिपलाई प्रक्षेपण टावरबाट समात्ने योजनामा फेरि ढिलाइ हुने भएको छ । कम्पनीका प्रमुख एलन मस्कले स्टारशिपलाई टावरबाट समात्ने प्रयास अब केही महिनापछि मात्रै हुन सक्ने बताएका छन् । मस्कले सामाजिक सञ्जालमार्फत कम्पनीले केही महिनापछि टावरको सहायताले फर्किएको स्टारशिपलाई समात्ने प्रयास गर्ने बताएका हुन् । उनका अनुसार गत महिना स्टारशिप समुद्रमा अवतरण गरेको स्थानमा त्यतिबेला समात्ने टावर भएको भए रकेटलाई सुरक्षित रूपमा समात्न सकिने थियो । यसै महिना स्टारशिपको १४औँ परीक्षण उडान हुने अपेक्षा गरिएको थियो । उक्त उडानमा रकेट फर्किएपछि प्रक्षेपण टावरमा जडान गरिएका यान्त्रिक हातको सहायताले समात्ने योजना थियो । केही साताअघि मस्कले आगामी उडानमै स्टारशिपलाई टावरबाट समात्न सकिने सम्भावना व्यक्त गरेका थिए । तर पछिल्लो भनाइले उक्त योजना पछि सरेको देखाएको छ । मस्कले अब स्टारशिपको अर्को उडान यस वर्षको अन्त्यतिर वा आगामी वर्षको सुरुवातमा हुन सक्ने अनुमान गरेका छन् । यद्यपि, यसको निश्चित मिति भने सार्वजनिक गरिएको छैन । स्टारशिप परियोजनामा यसअघि पनि पटक–पटक समयसीमा परिवर्तन हुँदै आएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको आर्टेमिस कार्यक्रमका लागि स्टारशिप प्रविधि महत्वपूर्ण मानिएको छ । आर्टेमिस-३ अभियान सन् २०२७ का लागि तय गरिएको छ । त्यसअन्तर्गत पृथ्वीको तल्लो कक्षामा अन्तरिक्षयान र चन्द्रमा अवतरण गर्ने यानबीच भेट तथा जोड्ने प्रक्रियाको परीक्षण गर्ने योजना छ । त्यसपछि आर्टेमिस-४ अभियानमार्फत सन् २०२८ मा मानिसलाई चन्द्रमामा उतार्ने दिशामा अघि बढ्ने योजना रहेको छ । आर्टेमिस-३ का लागि स्टारशिपलाई हावामै समात्नु अनिवार्य नभए पनि भविष्यका चन्द्रमा अभियानका लागि छिटोछिटो रकेट प्रक्षेपण गर्न सक्ने क्षमता महत्वपूर्ण हुने बताइएको छ । चन्द्रमा अवतरण गर्ने यानलाई पृथ्वीको कक्षामै इन्धन भर्नका लागि धेरैपटक रकेट प्रक्षेपण गर्नुपर्ने हुन सक्छ । सामान्यतया अन्तरिक्षमा पठाइएको रकेट फर्किएपछि समुद्रमा अवतरण गराइन्छ । त्यसपछि त्यसलाई पुनः प्रयोग गर्न कठिन हुने भएकाले नयाँ रकेट तयार गर्नुपर्ने हुन्छ । यसले अन्तरिक्ष अभियानको खर्च बढाउछ । स्पेसएक्सले रकेटलाई पुनः प्रयोग गर्न मिल्ने बनाउने प्रविधिको परीक्षण गरिरहेको छ । स्टारशिप फर्किएपछि प्रक्षेपण टावरमा जडान गरिएका यान्त्रिक हातले रकेटलाई समात्ने योजना कम्पनीको छ । यसबाट रकेटलाई क्षति हुने सम्भावना घट्ने र पुनः प्रयोग गर्न समय तथा खर्च कम हुने अपेक्षा गरिएको छ । मस्कले भविष्यमा प्रत्येक दिन स्टारशिप प्रक्षेपण गर्न सकिने अवस्थामा पुग्ने दाबी गर्दै आएका छन् । उनले भविष्यमा दैनिक प्रक्षेपणको संख्या अझ बढ्न सक्ने बताएका छन् । स्टारशिपको ताप प्रतिरोधी आवरणसँग सम्बन्धित समस्या पनि धेरै हदसम्म समाधान गरिएको उनको दाबी छ । यही प्रगतिका आधारमा कम्पनीले फर्किएको रकेटलाई प्रक्षेपण टावरबाटै समात्ने महत्वाकांक्षी योजना अघि बढाइरहेको छ ।




