काँग्रेस प्रवक्ता चालिसे भन्छन्- महाधिवेशन रोक्ने होइन, विश्वसनीय बनाउने हो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको विवाद अदालतमा लैजानुभन्दा विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

पार्टीको नेता चयन महाधिवेशनबाट हुने भन्दै उनले महाधिवेशन रोक्न अदालतमा निवेदन दिने तथा पार्टीभित्रको विवाद समाधानका लागि अदालतको सहारा लिने शैलीले कांग्रेसलाई बलियो नबनाउने बताएका छन् ।

उनले भनेका छन्- ‘काग्रेसको नेता को हो ? अव अदालतले तोक्नु पर्ने ? अधिवेशन रोक्ने निवेदन ? ये सुन्दा र देख्दा हरेक काग्रेसीको मन वेचैन छ। दलको नेताको चयन , दलको अधिवेशनले गर्दछ । चाहे विशेष होस वा नियमित । दल भित्र विश्वास गुमाउने अनि त्यसपछि अदालत ? यो शैलीले दललाई न्याय गर्दैन ।’

कांग्रेसभित्र फरक विचार र असहमति स्वाभाविक भएको उल्लेख गर्दै चालिसेले क्रियाशील सदस्यता, निर्वाचन प्रक्रिया र महाधिवेशनको निष्पक्षताबारे उठेका प्रश्न समाधान गर्न सबै पक्षको विश्वास हुने समिति र पारदर्शी प्रक्रिया बनाउनुपर्ने बताएका छन् ।

विधान समयअनुकूल नभए संशोधन गर्न सकिने तर सहमति वा भेलाको नाममा विद्यमान विधान उल्लंघन गर्न नहुने उनको भनाइ छ । विवाद समाधानका नाममा गलत अभ्यास बसाल्दा भविष्यमा थप समस्या निम्तिन सक्ने भन्दै उनले सचेत गराएका छन् । महाधिवेशन रोक्नु समस्याको समाधान नभएको भन्दै चालिसेले फरक विचार वा नेतृत्वप्रति असहमति भए महाधिवेशनमै प्रस्तुत गर्न, बहस गर्न र कार्यकर्ताको मत स्वीकार गर्न आग्रह गरेका छन् ।

विधानले तोकेको समयसीमा मंसिरमा समाप्त हुँदै जाने र अदालतमा विचाराधीन मुद्दा कहिले टुंगिन्छ भन्ने निश्चित नभएकाले अदालतको निर्णय पर्खेर पार्टीको लोकतान्त्रिक प्रक्रिया अनिश्चित बनाउन नहुने उनले बताएका छन् । नेताहरूको सम्मान आवश्यक भए पनि त्यो पार्टीको विधान र लोकतान्त्रिक प्रक्रियाभन्दा माथि हुन नसक्ने भन्दै उनले कांग्रेसलाई अदालतको विवादमा नभई कार्यकर्ताको विश्वासमा उभ्याउनुपर्ने बताएका छन् ।