इरानले आफ्ना छोराको हत्या गर्न खोजेको नेतन्याहुको आरोप

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले आफ्ना एक छोराको हत्या गर्ने प्रयास गरेको दाबी गरेका छन् ।

सोमबार इजरायली सञ्चारमाध्यमसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा नेतन्याहुले इरानले आफ्ना एक छोरालाई लक्षित गरेको र हत्या गर्ने प्रयास गरेको बताएका हुन् ।

उनले भने- ‘अविश्वसनीय घटना भयो। इरानले मेरा एक छोरालाई लक्षित गर्‍यो । इरानले मेरा एक छोरालाई मार्न खोज्यो ।’ तर उनले आफ्ना छोरामाथि हत्या प्रयास कहिले र कसरी गरिएको थियो भन्नेबारे कुनै विवरण सार्वजनिक गरेका छैनन् । उनका दुई छोरा याइर र अभ्नेरमध्ये कसलाई लक्षित गरिएको थियो भन्ने पनि स्पष्ट भएको छैन ।

नेतन्याहुको यस्तो दाबी इजरायलको आन्तरिक सुरक्षा निकायले आगामी निर्वाचनमा उनीसँग प्रतिस्पर्धा गर्ने गादी आइजेनकोटका लागि सुरक्षा अधिकारी उपलब्ध गराउन अस्वीकार गरेको विषयमा भइरहेको बहसका क्रममा आएको हो ।

आफ्नो परिवारलाई दिइएको सुरक्षा सुविधाको बचाउ गर्दै नेतन्याहुले आफू, उनकी पत्नी र छोराहरूलाई कम्तीमा पाँच वर्षसम्म सुरक्षा उपलब्ध गराउने विषयमा आन्तरिक सुरक्षा निकायसँग सहमति भएको बताएका छन् । उनले निर्वाचनमा आफू पराजित भए पनि यस्तो सुरक्षा आवश्यक हुने बताएका छन् ।

नेतन्याहुका दुई छोरा र एक छोरी छन् । उनका जेठा छोरा याइर सन् २०२४ देखि लामो समयदेखि अमेरिकाको मियामीमा बस्दै आएका छन् । त्यस अवधिमा उनी इजरायलको आन्तरिक सुरक्षा निकायको सुरक्षामा रहेको बताइएको छ । उनका कान्छा छोरा अभ्नेर भने अधिकांश समय इजरायलमै बस्दै आएका छन् ।

नेतन्याहुले सुरक्षा नदिएको अवस्थामा आफ्ना छोराको हत्या गर्न सकिने दाबी गर्दै निर्वाचनको समयमा सबै पक्षले संयमता अपनाउनुपर्ने बताएका छन् । उनले आगामी निर्वाचनमा नेतन्याहुसँग प्रतिस्पर्धा गर्ने गादी आइजेनकोटलाई सुरक्षा उपलब्ध गराउने विषयमा पनि आफूले आन्तरिक सुरक्षा निकायका प्रमुखसँग कुरा गरेको बताएका छन् । नेतन्याहुका अनुसार उनले प्रधानमन्त्री पदका सबै उम्मेदवारलाई उचित सुरक्षा उपलब्ध गराउन आग्रह गरेका छन् ।

यसैबीच, याइरलाई अमेरिकामा सुरक्षा प्रदान गरिएको विषयमा सरकारी खर्चको प्रयोगलाई लिएर विवादसमेत हुँदै आएको छ । इजरायलका विरोधी समूहबाट सम्भावित आक्रमणको जोखिम रहेको भन्दै उनको सुरक्षालाई आवश्यक ठानिएको बताइए पनि त्यसमा करदाताको रकम खर्च भएको विषयमा प्रश्न उठाइएको छ ।

अन्य समाचारहरु