
-केशव पन्थी / अर्घाखाँची डटकम्
अर्घाखाँची । ‘हरियो वन नेपालको धन’ भन्ने मूल नारासहित पूर्णब्रह्म कविर समाज नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्क नगरपालिका–१ स्थित उपल्लो टारी सामुदायिक वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।


कविर समाज नेपाल, अर्घाखाँची शाखाका जिल्ला संयोजक कृष्ण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका–१ का वडा अध्यक्ष माधव श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रेष्ठले वनले वातावरणीय सन्तुलन कायम राख्नुका साथै मानव जीवनचक्रमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले वृक्षारोपण अत्यन्तै आवश्यक र प्रशंसनीय कार्य भएको बताउनुभयो।


कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, अर्घाखाँचीका पूर्व अध्यक्ष रामचन्द्र पोख्रेलले रोपिएका बिरुवाको संरक्षण तथा नियमित हेरचाहमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। पत्रकार केशव पन्थी लगायतका वक्ताहरूले पनि वृक्षारोपणको महत्व र वातावरण संरक्षणका विषयमा धारणा राख्नुभएको थियो।


कविर समाज नेपालका सहसंयोजक शोभबहादुर खत्रीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाकी रेखा केसीले गर्नुभएको थियो।
कार्यक्रममा कविर समाज नेपाल अर्घाखाँची शाखाका भक्तजन, स्थानीयवासी तथा वन उपभोक्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा विभिन्न प्रजातिका ठूलो संख्यामा बिरुवा रोपिएको आयोजकले जनाएको छ।


वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षण र हुर्काउने जिम्मेवारीसमेत समुदायको साझा दायित्व भएकाले आगामी दिनमा त्यसतर्फ निरन्तर ध्यान दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
तस्वीर : केशव पन्थी / अर्घाखाँची डटकम्




