
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्ने क्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति तथा सरोकारवालासँग छलफल गरेको छ । मंगलबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार र उच्च शिक्षालाई अनुसन्धानमुखी तथा उत्पादनशील बनाउने विषयमा सुझाव लिइएको थियो । छलफलमा सहभागी विज्ञ तथा सरोकारवालाले उच्च शिक्षालाई गुणस्तरीय, अनुसन्धानमुखी, उत्पादनशील र व्यवहारिक बनाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । विश्वविद्यालयको क्षमता अभिवृद्धि, शैक्षिक गुणस्तर कायम तथा विद्यार्थीलाई प्रतिस्पर्धी बजारमा टिक्न सक्ने बनाउने विषयलाई आगामी कानुनमा प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् । छलफलमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धानको विस्तार तथा उच्च शिक्षालाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउने विषयमा विचार–विमर्श गरिएको मन्त्रालयले जनाएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रसँग सम्बन्धित छ वटा विधेयक अघि बढाउने तयारी भइरहेको जानकारी दिएका छन् । बैठकमा विभिन्न विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डीन, प्राध्यापक, राष्ट्रिय योजना आयोगका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।


२- २७ वर्षदेखि बन्द रहेको ऐतिहासिक वीरगञ्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन अघि बढाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित कार्यदलले मंगलबार मिलको स्थलगत निरीक्षण गरी भौतिक संरचना, मेसिन तथा उपकरणको अवस्थाबारे प्राविधिक मूल्याङ्कन गरेको छ । सहसचिव श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले मिलको वर्तमान अवस्था, विगतमा भएका निर्णय तथा यसअघि तयार भएका अध्ययन प्रतिवेदनको समेत समीक्षा गर्नेछ । कार्यदललाई अध्ययन पूरा गरी १५ दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार खारेज भएको वीरगञ्ज चिनी मिलको अवस्था र पुनः सञ्चालनका लागि चाल्नुपर्ने कदमबारे अध्ययन गर्न भदौ १ गते कार्यदल गठन गरेको हो । कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिका साथै उद्योग विभागका अधिकृत प्रतिनिधि सदस्य रहेका छन् । कार्यदलको अध्ययनसँगै लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी मिल पुनः सञ्चालनमा आउने सम्भावना बढेको छ ।

३- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । काँग्रेससहितका विपक्षी दलहरुले बहिष्कार गरेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले पेश गरेको विश्वासको मतको पक्षमा ५७ मत परेको थियो । प्रदेश सभामा हाल कायम रहेको १०४ सदस्यका आधारमा सो मत बहुमत भएको उपसभामुखले घोषणा गरेकी थिइन् । आजको मतदान प्रक्रियामा केवल ५८ सांसद उपस्थित रहेका थिए । बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । निर्वाचित ११० प्रदेशसभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्य कायम रहेको छ ।
४- अमेरिकाले विश्व अर्थतन्त्रबाट अलग पार्ने उद्देश्यसहित कडा आर्थिक प्रतिबन्ध घोषणा गरेपछि इरानले त्यसको सामना गर्न आफू पूर्ण रूपमा तयार रहेको जनाएको छ । अमेरिकाले इरानविरुद्ध ‘आर्थिक विनाशकारी अभियान’ घोषणा गर्दै उसको विश्वव्यापी आर्थिक सम्बन्धमा कडा प्रहार गर्ने जनाएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग आर्थिक कारोबार गर्ने कुनै पनि देश, बैंक वा व्यवसायले अमेरिकी कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएपछि इरानको जवाफ आएको हो । इरानका अर्थमन्त्री अली मदनिजादेहले अमेरिकी प्रतिबन्धको सामना गर्न तेहरान पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनले नयाँ प्रतिबन्धले अमेरिकालाई नै अर्को पराजयतर्फ लैजाने दाबी गरेका छन् । उनका अनुसार इरानसँग प्रतिबन्धको सामना गर्न दुई वर्षको योजना रहेको छ । चीन र रुसले अमेरिकी कदम स्वीकार नगरेको भन्दै अन्य मुलुकले पनि अमेरिकी दबाबको प्रतिरोध गर्ने उनले विश्वास व्यक्त गरेका छन् । अमेरिकाले इरानको आम्दानीका प्रमुख स्रोत रोक्ने उद्देश्यले डिजिटल सम्पत्ति, प्रविधि, सुन, हवाई यातायात र समुद्री यातायात क्षेत्रलाई लक्षित गरेको छ । साथै करिब ६० संस्था, व्यक्ति तथा पानीजहाजमाथि समेत प्रतिबन्ध लगाइएको छ । अमेरिकी अर्थमन्त्री बेसेन्टले इरानले प्रतिबन्ध छल्दै तेल कारोबार गर्न प्रयोग गरेका सञ्जाल, सहयोगी तथा वित्तीय माध्यम पहिचान गरिएको बताएका छन् । उनले इरानसँग कारोबार गर्ने सरकार तथा संस्थाहरूले आफूलाई त्यस्ता गतिविधिबारे जानकारी नभएको भन्दै उम्कन नसक्ने चेतावनी दिएका छन् ।


५- नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडीले पदीय मर्यादाविपरीतका काम गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा २०४६ वैशाख १६ गतेदेखि २०८१ जेठ ३२ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरिएको थियो । आयोगका अनुसार उक्त अवधिमा सुडी र उनको एकाघर परिवारको वैधानिक आय विभिन्न स्रोतबाट ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा रहेको देखिएको छ । तर सोही अवधिमा जग्गा तथा शेयर खरिद, सवारीसाधन खरिद, बीमा, अध्ययन खर्च, ऋण तिर्ने रकम, बैंक मौज्दात तथा विभिन्न लगानीसहित ९ करोड ७५ लाख ६९ हजार ५ सय ८१ रुपैयाँ ९५ पैसा खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ । वैधानिक आयभन्दा खर्च तथा लगानी ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बढी रहेको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेको आयोगको निष्कर्ष छ । आयोगले सुडीले सार्वजनिक सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत रहेको देखिएको जनाएको छ । आयोगले सुडी र उनकी श्रीमतीविरुद्ध कानुनबमोजिम सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

६- लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नवनियुक्त स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजित थारु र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री कृष्णा कुश्मा थारुलाई पद तथा गोपनीयताको शपथ लिएका छन् । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । त्यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । योसँगै लुम्बिनीमा चेतनारायण आचार्य नेतृत्वको सरकार ९ सदस्यीय बनेको छ ।
७- नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा पुगेर रोकिएको छ । आज ३५७ कम्पनिका एक करोड ४४ हजार १६४ कित्ता शेयर ४ अर्ब १० करोड ९७ लाख ५१ हजार ७३० मा कारोबार भएको थियो । आज विकास बैंक र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १४.९५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी धवलागिरी लघुवित्तको शेयर १०.०७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी मकर जितुमाया सुरी हाइड्रोको ९० करोड बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १७ करोड ७१ लाख बराबरको कारोबार भएको छ ।
८- जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, हेमा बेल्वासे (केसी) र भण्डारीलाल अहिरलाई पार्टी निर्देशनविपरीत काम गरेको भन्दै पुनः स्पष्टीकरण सोधेको छ । पार्टीले २०८३ भदौ १ गते लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न तथा सरकारको विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको भएपनि तीनै सांसदले उक्त निर्देशनविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै यसअघि स्पष्टीकरण मागिएको थियो । उनीहरूले बुझाएको स्पष्टीकरण अध्ययन गर्दा पार्टीको नीति, निर्णय तथा निर्देशनसँग मेल नखाने र उठाइएका प्रश्नको चित्तबुझ्दो जवाफ नआएको पार्टीले जनाएको छ । पार्टीले पुनः स्पष्टीकरणमा पार्टी निर्देशनविपरीत सरकारको पक्षमा मतदान गरेको विषयमा अनुशासनात्मक कारबाही किन नगर्ने, पार्टीको नीति तथा निर्णयविपरीत सदस्यले काम गर्न मिल्ने वा नमिल्ने र यस्तो कार्यलाई पार्टी विधान तथा निर्णयअनुसार कसरी लिनुपर्ने हो भन्नेबारे स्पष्ट धारणा मागेको छ । तीनै सांसदलाई २४ घण्टाभित्र पार्टी केन्द्रीय कार्यालयमा पुनः स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ । तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा जवाफ चित्तबुझ्दो नभएमा पार्टी विधानअनुसार अनुशासनात्मक कारबाही अघि बढाइने चेतावनी दिइएको छ । पार्टीका महासचिव डा. सुरेन्द्रकुमार झाले जारी गरेको पत्रमा पार्टीको नीति, निर्णय तथा निर्देशन पालना गर्नु प्रत्येक सदस्यको अनिवार्य दायित्व रहेको स्मरण गराइएको छ ।
९- काठमाडौँको बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीसँग एक युवकले हातपात गरेका छन् । ट्राफिक व्यवस्थापनमा खटिएकी सामुदायिक महिला प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सडक पार गर्न आकाशे पुलको प्रयोग गर्न सुझाव दिएपछि ती पुरूषले महिला प्रहरीमाथि प्रहार गरेको बताइएको छ । सामाजिक सञ्जालमा प्रहरी र युवाको झडपको भिडियो भाइरल भएको छ । हातपात गर्ने २७ वर्षीय राजु कठायत भएको खुलेको छ भने उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१०- नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको विवाद अदालतमा लैजानुभन्दा विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान खोज्नुपर्ने बताएका छन् । पार्टीको नेता चयन महाधिवेशनबाट हुने भन्दै उनले महाधिवेशन रोक्न अदालतमा निवेदन दिने तथा पार्टीभित्रको विवाद समाधानका लागि अदालतको सहारा लिने शैलीले कांग्रेसलाई बलियो नबनाउने बताएका छन् । उनले भनेका छन्- ‘काग्रेसको नेता को हो ? अव अदालतले तोक्नु पर्ने ? अधिवेशन रोक्ने निवेदन ? ये सुन्दा र देख्दा हरेक काग्रेसीको मन वेचैन छ। दलको नेताको चयन , दलको अधिवेशनले गर्दछ । चाहे विशेष होस वा नियमित । दल भित्र विश्वास गुमाउने अनि त्यसपछि अदालत ? यो शैलीले दललाई न्याय गर्दैन ।’ कांग्रेसभित्र फरक विचार र असहमति स्वाभाविक भएको उल्लेख गर्दै चालिसेले क्रियाशील सदस्यता, निर्वाचन प्रक्रिया र महाधिवेशनको निष्पक्षताबारे उठेका प्रश्न समाधान गर्न सबै पक्षको विश्वास हुने समिति र पारदर्शी प्रक्रिया बनाउनुपर्ने बताएका छन् । विधान समयअनुकूल नभए संशोधन गर्न सकिने तर सहमति वा भेलाको नाममा विद्यमान विधान उल्लंघन गर्न नहुने उनको भनाइ छ । विवाद समाधानका नाममा गलत अभ्यास बसाल्दा भविष्यमा थप समस्या निम्तिन सक्ने भन्दै उनले सचेत गराएका छन् । महाधिवेशन रोक्नु समस्याको समाधान नभएको भन्दै चालिसेले फरक विचार वा नेतृत्वप्रति असहमति भए महाधिवेशनमै प्रस्तुत गर्न, बहस गर्न र कार्यकर्ताको मत स्वीकार गर्न आग्रह गरेका छन् । विधानले तोकेको समयसीमा मंसिरमा समाप्त हुँदै जाने र अदालतमा विचाराधीन मुद्दा कहिले टुंगिन्छ भन्ने निश्चित नभएकाले अदालतको निर्णय पर्खेर पार्टीको लोकतान्त्रिक प्रक्रिया अनिश्चित बनाउन नहुने उनले बताएका छन् । नेताहरूको सम्मान आवश्यक भए पनि त्यो पार्टीको विधान र लोकतान्त्रिक प्रक्रियाभन्दा माथि हुन नसक्ने भन्दै उनले कांग्रेसलाई अदालतको विवादमा नभई कार्यकर्ताको विश्वासमा उभ्याउनुपर्ने बताएका छन् ।

११- काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सञ्जाल काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । फोरमको मंगलबार बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेट गरेर उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गाको व्यवस्थालगायत विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले २०८३ भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत आपत्ति जनाएको छ । उक्त विषयमा पनि प्रधानमन्त्रीसँगको भेटमा ध्यानाकर्षण गराउने फोरमले जनाएको छ । फोरमले यसअघि पनि काठमाडौं महानगरपालिकाको प्रमुख रहँदादेखि नै प्रधानमन्त्री शाहलाई उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै आएको थियो । तत्कालीन सरकार र नेप वेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरेर फोहोर व्यवस्थापनको नयाँ बाटो खोल्ने विषयमा समेत फोरममा छलफल हुँदै आएको जनाइएको छ । उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा विषय भएकाले यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको फोरमका अध्यक्ष चिरीबाबु महर्जनले बताएका छन् । फोरमले फोहोर व्यवस्थापनको समस्या तत्कालीन रूपमा मात्र नभई दीर्घकालीन रूपमा समाधान गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ ।
१२- नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ । मंगलबार बसेको एमाले गण्डकी संसदीय बोर्डको बैठकले सरकारमा सहभागी चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति बनेपछि एमाले कांग्रेस नेतृत्वको गण्डकी सरकारबाट बाहिरिएको हो । गण्डकी सरकारमा एमालेका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल, कृषिमन्त्री भीमबहादुर कार्की र स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे सहभागी छन् । ५९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३० सांसदको समर्थन आवश्यक पर्छ । जसमा कांग्रेसका २७, एमालेका २२ र नेपाली कम्युनिष्ट पार्टीका सभामुखबाहेक ६ सांसद छन् । त्यस्तै राप्रपाका २ सांसद रहेका छन् । यद्यपि, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सत्ता सहकार्य भएपनि राप्रपाको सहयोग बिना बहुमत पुग्ने अवस्था रहेको छैन । एमाले सरकारबाट बाहिरिएपछि पनि गण्डकी प्रदेशमा सहज रुपमा नयाँ सरकार बन्ने अवस्था स्पष्ट देखिदैन ।

१३- काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत पेश गरेको निवेदन दर्ता भएको छ । सोमबार देउवा र खड्काले अलग अलग पेश गरेको निवेदन सर्वोच्चमा दर्ता भएको र सुनुवाई भदौ ११ गते विहिबार हुने भएको हो । यस निवेदनमा सर्वोच्चले काँग्रेसको १५औं महाधिवेशनका गतिबिधि रोक्ने या जारी राख्न सक्ने बारे आदेश दिने छ ।
१४- प्रधानमन्त्री बालेन्द्र शाहले कालो चश्मा लगाउनु कुनै फेसनका लागि नभई आँखाको समस्याका कारण भएको खुलेको छ । प्रधानमन्त्री शाहको आँखामा समस्या भएपछि चिकित्सकले आँखाको परीक्षण गरेपछि उनलाई आँखा सुक्खा हुने समस्या (ड्राइआई) देखिएको चिकित्सकीय रिपोर्टमा उल्लेख छ । संघीय संसद सचिवालयमा बुझाइएको रिपोर्टअनुसार प्रधानमन्त्रीलाई उज्यालो प्रकाशमा हेर्न गाह्रो हुने समस्या रहेको कारण चर्को घाम वा धेरै उज्यालो ठाउँमा आँखामा हुने असहजता कम गर्न कालो चस्मा लगाउन चिकित्सकले सुझाव दिइएको पाइएको छ । प्रधानमन्त्री शाहले साउन २२ मा स्वास्थ्य परीक्षण गरी साउन २६ मा संसद सचिवालयलाई यस विषयमा पत्र पठाएका थिए । यसअघि सभामुख डिपी अर्यालले संसदमा धेरै जसो सांसदहरुले कालो चश्मा लगाएर उपस्थित हुन लागेपछि संसदमा उपस्थित हुदा कालो चश्मा लगाएर आउन नपाइने भन्दै रुलिङ गरेका थिए । साथै लगाउनुपर्ने अवस्था भएमा चिकित्सकीय परिक्षणको प्रमाण आवश्यक रहेको बताएका थिए ।

१५- अमेरिकाले इरानको अर्थतन्त्रका पाँच महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ । इरानले अन्य देशसँग आर्थिक गतिविधि सञ्चालन गर्न प्रयोग गर्ने डिजिटल सम्पत्ति, प्रविधि, सुन, हवाई तथा समुद्री यातायात क्षेत्रलाई लक्षित गर्दै अमेरिकाले प्रतिबन्ध घोषणा गरेको हो । अमेरिकाले यी क्षेत्रमा हुने कारोबारमार्फत इरानको आम्दानी र अन्तर्राष्ट्रिय व्यापारमा रोक लगाउने उद्देश्य राखेको छ । इरानसँग यी क्षेत्रमा कारोबार गरेर उसलाई आर्थिक लाभ पुर्याउने विदेशी मुलुकमाथिसमेत अमेरिकाले थप प्रतिबन्ध लगाउन सक्ने जनाइएको छ । यद्यपि, अमेरिकाले कुन कुन देशमाथि थप प्रतिबन्ध लगाउने भन्ने स्पष्ट गरेको छैन । चीन, टर्की र संयुक्त अरब इमिरेट्स भने इरानका प्रमुख व्यापारिक साझेदारका रूपमा रहेका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ‘आर्थिक बहिष्कार अभियान’ सुरु गरिएको बताएका छन् । उनका अनुसार यो अभियान इरान र उसका सहयोगी मुलुकविरुद्ध केन्द्रित हुनेछ । उनले इरानसामु अब विश्वबाट पूर्ण रूपमा अलग्गिएर सीमित अर्थतन्त्रमा बस्ने वा सामान्य अवस्थामा फर्कँदै विश्व अर्थतन्त्रमा पुनः सहभागी हुने अवसर रोज्ने विकल्प रहेको बताएका छन् । अमेरिकाले लगाउने थप प्रतिबन्धको असर इरानमा मात्र सीमित हुँदैन । कुनै विदेशी कम्पनीले अमेरिकाले प्रतिबन्ध लगाएको क्षेत्रमा इरानसँग कारोबार गरेमा त्यस्ता कम्पनीमाथिसमेत अमेरिकी कारबाही हुन सक्नेछ । अमेरिकाको प्रमुख दबाब उसको मुद्रा र बैंकिङ व्यवस्थामार्फत हुने गरेको छ । कुनै कम्पनीमाथि प्रतिबन्ध लगाएपछि अमेरिकी बैंक तथा कम्पनीसँग कारोबार गर्न कठिन हुन सक्छ । कतिपय अवस्थामा अमेरिकी वित्तीय प्रणालीमा त्यस्ता कम्पनीको पहुँचसमेत रोक्न सकिनेछ । यसका कारण भारतीय, चिनियाँ, टर्किस वा संयुक्त अरब इमिरेट्सका कम्पनीहरूलाई इरानसँग कारोबार जारी राख्दा अमेरिकी बजार र वित्तीय प्रणालीमा असर पर्न सक्ने जोखिम रहनेछ । यही जोखिमका कारण धेरै विदेशी कम्पनीहरूले अमेरिकी प्रतिबन्धमा पर्नबाट बच्न इरानसँगको कारोबार घटाउने वा दूरी बनाउने सम्भावना रहेको छ ।
१६- राप्रपा नेता कमल थापाले राप्रपाले बागमती प्रदेशका तीन सांसदलाई गरिएको कारवाहीको निर्णयमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत थापाले भदौ ४ गतेपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक नबसेको भन्दै तीन सांसदलाई पदमुक्त गर्ने निर्णय कसरी आयो भन्दै प्रश्न गरेका हुन् । उनले बागमती प्रदेश सभामा बुझाइएको पत्र ‘फेक’ नहोस् समेत भनेका छन् । उनले भनेका छन्- ‘गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन। यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु। यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा ‘फेक’ हो कि भन्ने पनि लाग्छ । यो सत्य नहोस् ।’ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले हस्ताक्षर गरेको पत्र सोमबार प्रदेश सभा सभामुखलाई बुझाइएको थियो । पत्रमा पार्टीको निर्देशन र ह्विप उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गरिएको उल्लेख थियो । यसअघि भदौ ४ मा बसेको राप्रपाको बैठकले बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गरेको थियो ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ५ सयले घटेर तोलाको ३ लाख २२ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख २२ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले घटेर तोलाको ४९०० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४९६५ मा कारोबार भएको थियो ।
१८ – बेनी हाइड्रोपावरले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन भदौ २५ गतेसम्म खुला रहनेछ र उक्त अवधिमा मागअनुसार सेयर बिक्री नभएमा आवेदन दिने समय असोज ५ गतेसम्म थप गरिने आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यसको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । त्यसमध्ये १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाका लागि यसअघि नै छुट्याइएको थियो । सर्वसाधारणका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २० हजार ८ सय कित्ता कम्पनीका कर्मचारीका लागि र ५२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका बाँकी ८ लाख ६३ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो । यसैबीच, इक्रा नेपालले बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको जारीकर्ता मूल्यांकनलाई ‘आईसीआरएएनपी-आईआर बीबी’ बाट बढाएर ‘आईसीआरएएनपी-आईआर बीबी प्लस’ कायम गरेको छ । यसको अर्थ वित्तीय दायित्व समयमै पूरा गर्ने क्रममा कम्पनीमा मध्यम स्तरको जोखिम रहेको भन्ने हो ।सन् २०१६ मा स्थापना भएको बेनी हाइड्रोपावरले सोलुखुम्बु जिल्लाको बेनी तथा सल्लेरी क्षेत्रमा १८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
१९- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशका सांसदलाई पार्टीले कारबाहीका लागि निवेदन दिँदैमा उनीहरूको सांसद पद स्वतः पदमुक्त नहुने बताएका छन् । शाहीले पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गर्दै सम्बन्धित सांसदलाई कारबाही गर्न बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र बुझाइएको बताएका छन् । निवेदन बुझाउँदैमा सांसद पदमुक्त नहुने भन्दै उनले सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार निर्वाचन आयोगबाट पदमुक्त भएको घोषणा नभएसम्म पदमुक्त भएको प्रचार गर्नु उचित नहुने बताएका छन् । उनले सम्बन्धित निकायबाट औपचारिक घोषणा नभएसम्म सांसद पदमुक्त भएको भन्दै समाचार बनाउनु र देशभर गलत सन्देश फैलाउनु उचित नभएको बताएका छन् । पार्टीका आधिकारिक व्यक्ति र जिम्मेवार नेताहरूले नै तथ्य नबुझी गलत सूचना फैलाउन थाले पार्टी कसरी बलियो बन्न सक्छ भन्ने प्रश्न पनि उनले गरेका छन् । शाहीले पार्टीलाई कारबाही गर्ने अधिकार भए पनि कारबाहीका लागि निवेदन बुझाउँदैमा सांसद पदमुक्त भएको मान्न नसकिने स्पष्ट पारेका छन् । बागमती प्रदेशका सम्बन्धित सांसदहरू जनताबाट प्रत्यक्ष निर्वाचित भएकाले उनीहरूको पदको आधार जनताको मत रहेको उल्लेख गर्दै शाहीले भावनामा नभई तथ्यका आधारमा धारणा सार्वजनिक गर्न आग्रह गरेका छन् । बागमती प्रदेशमा सरकारलाई समर्थन दिएपछि राप्रपाको विवाद सतहमा आएको छ । राप्रपाको केन्द्रीय नेतृत्वले संसदीय दलका नेता उद्धव थापासहित मन्त्री बनेका राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई कारवाही गर्दै पदमुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि पक्ष र विपक्षमा मतदान अग्रण दुई किसिमका ह्वीप जारी गरिएको छ ।
२०- इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीले विजयी सुरुवात गरेको छ । गए राति सम्पन्न खेलमा चेल्सीले फुलहमलाई ३-२ गोल अन्तरले हराएको हो । चेल्सीले खेल सुरु भएको ३१ सेकेन्डमै अग्रता लिएको थियो । कोल पाल्मरको पासमा जोआओ पेड्रोले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । यो प्रिमियर लिगको नयाँ सिजनको सुरुवाती चरणमा गरिएको सबैभन्दा छिटो गोल बनेको छ । फुलहमका जोसुवा किङले २३औँ मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । तर पहिलो हाफ सकिन चार मिनेटअघि मोर्गन रोजर्सले गोल गरेपछि चेल्सी २-१ ले अघि बढ्यो । दोस्रो हाफ सुरु भएको केही मिनेटमै कोल पाल्मरले ४९औँ मिनेटमा गोल गर्दै चेल्सीको अग्रता ३-१ बनाए । फुलहमका गोन्जालो गार्सियाले ५४औँ मिनेटमा गोल गर्दै अन्तर घटाए पनि त्यसपछि थप गोल हुन सकेन र चेल्सीले ३-२ को जित निकाल्यो । यो जितसँगै चेल्सीका नयाँ प्रशिक्षक जाबी अलोन्सोले प्रिमियर लिगमा आफ्नो पहिलो खेलमै तीन अंक हासिल गरेका छन् । चेल्सीका तीनै अग्रपंक्तिका खेलाडी जोआओ पेड्रो, मोर्गन रोजर्स र कोल पाल्मरले गोल गरेका थिए ।




