
सुभाष कायस्थ
जकपुरधाम, ९ भदौ । आफ्ना विभिन्न माग पुरा नगरेको भन्दै हरवा चरवाहरुले दबावमूलक रैली प्रदर्शन गर्दै मधेश प्रदेशका प्रशासनिक भवन मधेश भवन कार्यालय घेराउ गरेका छन् ।
मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका मुक्त हरवा चरवा, अधिकारकर्मी तथा सामाजिक अभियन्ताको सहभागितामा मुक्त हरवा चरवा अधिकार मञ्चद्वारा गठित हरवा चरवा संघर्ष समितिले दबावमूलक प्रदर्शनसहित मधेश भवन घेराउ गरिएको हो ।


प्रदेश सरकारले मुक्त हरवा चरवाका समस्या र माग सम्बोधन नगरेको भन्दै प्रदेश सरकारमाथि दबाव दिन ध्यानाकर्षण गराउने उद्देश्यले दबावमूलक रैली प्रदर्शन र मधेश सरकारका प्रशासनिक भवन घेराउ कार्यक्रम आयोजना गरिएको संघर्ष समितिका संयोजक श्रीप्रसाद सादाले जानकारी दिएका छन् ।

जनकपुरधामस्थित रेलवे स्टेशनबाट सुरु भएको ¥याली नगरका विभिन्न भागको परिक्रमा गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारीहरुलाई मधेश भवनभित्र सुरक्षाकर्मीहरुले प्रवेश गर्न नदिएपछि मधेश भवन अगाडि नै घेराउ गर्दै प्रदर्शन गरेका थिए ।
¥यालीमा सहभागीहरूले मुक्त हरवा चरवाको पहिचान सुनिश्चित गर्न तथ्यांक संकलन, परिचयन पत्र वितरण, उचित पुनःस्थापना तथा शिक्षा, स्वास्थ्य, रोजगारी र जीविकोपार्जनका अवसर उपलब्ध गराउनुपर्ने माग वर्षौदेखि गर्दै आएको छ ।

प्रदेश सरकारले मौखिक आश्वासन पटक पटक दिदैँ आएपनि हालसम्म कार्यान्वयन नगरेपछि दबावमूलक कार्यक्रम आयोजना तिनीहरुले गर्दै आएको छ । प्रदेश सरकारबाट ठोस प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी रहने संघर्ष समितिका सदस्य लागेन्द्र सादाले बताए ।
हरवा चरवा प्रथा अन्त्य भएको घोषणा गरिएपनि त्यसबाट मुक्त भएका धेरै परिवार अझै भूमि, आवास, रोजगारी र सामाजिक सुरक्षाजस्ता आधारभूत अधिकारबाट वञ्चित रहेको उनको भनाई छ । मुक्त हरवा चरवाको जीवनस्तर सुधारका लागि प्रदेश सरकारले प्रभावकारी पुनःस्थापना कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ ।


विगतमा गरिएका संघीय सरकारले गरेको घोषणा र मधेश सरकारले गरेको प्रतिबद्धता कार्यान्वयनमा नआएको भन्दै प्रदेश सरकारलाई तत्काल ठोस कदम चाल्न प्रदर्शनमा सहभागीहरुले आग्रह गरेका छन् । संघर्ष समितिले आन्दोलनको दोस्रो चरणअन्तर्गत भदौ १० गते बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि बिहान ९ बजेदेखि धर्ना दिने कार्यक्रम रहेको संयोजक सादाले जनाएको छ ।
धर्नाका क्रममा प्रदेश सरकारलाई मागपत्र बुझाउँदै मुक्त हरवा चरवाका समस्या तत्काल सम्बोधन गर्न दबाब दिने समितिको तयारी उनीहरुको रहेको छ । समितिले सरकारले माग सम्बोधनमा बेवास्ता गरे आन्दोलनलाई थप सशक्त बनाउने संयोजक सादाले चेतावनी दिएको छ ।




