
अर्घाखाँची । पाणिनि गाउँपालिकाले पाणिनि आधारभूत अस्पताल सञ्चालनका लागि असार महिनामै आवश्यक जनशक्ति नियुक्त गरी काम अघि बढाएको भए पनि अस्पताल सञ्चालन र जनशक्तिको औपचारिक परिचय तथा सेवाबारे सर्वसाधारणलाई जानकारी गराउने काममा ढिलाइ भएको भन्दै प्रश्न उठेको छ।
अस्पताल सञ्चालनका लागि जनशक्ति नियुक्त भइसकेको अवस्थामा पनि हालसम्म गाउँ कार्यपालिका, सरोकारवाला निकाय तथा नियुक्त जनशक्तिबीच औपचारिक परिचयात्मक कार्यक्रम हुन नसक्नु तथा अस्पताल सञ्चालनबारे आम नागरिकलाई स्पष्ट जानकारी नदिनु व्यवस्थापन पक्षको कमजोरी भएको टिप्पणी हुन थालेको छ।


स्थानीय तहले गरेका निर्णय समयमै कार्यान्वयन हुन नसक्दा आधारभूत स्वास्थ्य सेवा पाउने नागरिकको अपेक्षामा समेत असर पर्ने भन्दै अस्पताल सञ्चालनको विषयमा स्पष्टता आवश्यक देखिएको छ।

अस्पताल सञ्चालनका लागि गाउँ कार्यपालिकाबाट भएका निर्णय कार्यान्वयनमा भइरहेको ढिलाइले अस्पताललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रक्रियामै प्रश्न उठाएको छ। जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भए पनि निर्णय कार्यान्वयनमा ढिलासुस्ती हुँदा त्यसले नागरिकमा सकारात्मक सन्देश नजाने स्थानीयको भनाइ छ।
अस्पताल व्यवस्थापन समितिले अस्पताल सञ्चालनका क्रममा कुनै समस्या वा अप्ठ्यारो सामना गरिरहेको भए गाउँपालिका तथा सम्बन्धित सरोकारवालासँग आवश्यक समन्वय र सहयोग लिएर अघि बढ्नुपर्ने देखिन्छ।

अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको अवस्थामा अब प्रशासनिक प्रक्रिया पूरा गरी सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न ढिलाइ गर्न नहुने स्थानीयको अपेक्षा छ।




