इजरायली सुरक्षा बलद्वारा जेरुसेलमस्थित राष्ट्रसंघीय नियोगमा छापा, प्यालेस्टाइनद्वारा कडा निन्दा

इजरायली सुरक्षा बलले पूर्वी जेरुसेलमस्थित संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य निकायको एक परिसरमा छापा मारी नियन्त्रणमा लिएको छ । इजरायलको यस कदमको प्यालेस्टाइनी प्रेसिडेन्सी र विभिन्न राजनीतिक समूहहरूले कडा शब्दमा निन्दा गरेका छन् ।

प्राप्त जानकारीअनुसार इजरायली राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–ग्वीरको उपस्थितिमा सीमा प्रहरीले पूर्वी जेरुसेलमको कफ्र अकाबस्थित ‘कलान्डिया भोकेशनल ट्रेनिङ सेन्टर’ खाली गराई बन्द गरिदिएको छ । उक्त कारबाहीका क्रममा नियोगका करिव ४० जना कर्मचारीलाई हिरासतमा लिइएको प्यालेस्टाइनी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

इजरायली सञ्चारमाध्यमका अनुसार मन्त्री बेन–ग्वीरले आतंकवादी गतिविधिमा संलग्न वा हमासलाई सहयोग पुरÞ्याउने कुनैपनि संस्थालाई जेरुसेलम वा इजरायलको अन्य भूभागमा सञ्चालन हुन नदिने बताउनुभएको छ । यता इजरायली परराष्ट्र मन्त्रालयले उक्त जग्गा राष्ट्रसंघीय नियोगको नभई ‘जेविश नेशनल फण्ड’ को स्वामित्वमा रहेको र त्यहाँ नयाँ शैक्षिक परिसर निर्माण गर्ने योजना रहेको दाबी गरेको छ ।