
उत्तर–पश्चिमी कम्बोडियाको प्रिएह विहियर प्रान्तस्थित एक गाउँ नजिकै एउटा छावासहित ६ वटा दुर्लभ जंगली एसियाली हात्तीको बथान फेला परेको छ ।
कम्बोडियाको वातावरण मन्त्रालयले यसको पुष्टि गरेको हो । वातावरण मन्त्रालयका उप–राज्यमन्त्री एवं प्रवक्ता ख्वे अतित्यकाअनुसार यी दुर्लभ स्तनधारी जनावरहरू गत अगस्ट १२ देखि त्बेङ मेन्चे जिल्लाको छेब–प्रिएह रोका वन्यजन्तु आरक्ष क्षेत्रभित्रको वनमा विचरण गरिरहेका छन् ।


अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले एसियाली हात्तीलाई आफ्नो रातो सूचीमा ‘लोपोन्मुख’ प्रजातिका रूपमा सूचीकृत गरेको छ ।

प्रवक्ता अतित्यको जानकारीअनुसार मन्त्रालयको टोलीले स्थलगत सर्वेक्षण गर्नुका साथै ड्रोन प्रयोग गरेर उक्त बथानको निगरानी गरिरहेको छ । हाल हात्तीको यो समूह गाउँभन्दा करिव ३ किलोमिटर टाढा रहेको छ ।




