रसुवामा बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, प्रहरी कार्यालयसमेत बगायो

रसुवा । बुधबार बिहान अचानक आएको बाढीका कारण रसुवामा २८ जना प्रहरी सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका १९ जना र सशस्त्र प्रहरीका ९ जना रहेका छन्।

बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरी चौकीमा कार्यरत २२ प्रहरीमध्ये ९ जना मात्र सम्पर्कमा आएका छन् भने १३ जना अझै सम्पर्कविहीन छन्।

त्यस्तै, स्याफ्रुबेसीमा कार्यरत ९ प्रहरीमध्ये ३ जना सम्पर्कमा आएका छन् भने ६ जना सम्पर्कविहीन रहेको डीआईजी रेग्मीले जानकारी दिएका छन्। टिमुरे बीओपीमा कार्यरत ९ जना सशस्त्र प्रहरीसमेत सम्पर्कविहीन छन्।

बाढीले प्रहरी कार्यालयसमेत बगाएको जनाइएको छ। बुधबार बिहान करिब ९ बजे अचानक आएको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायत तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

विपद् प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। खोज तथा उद्धारका लागि नेपाली सेनाले दुई हेलिकप्टरसहितको टोली परिचालन गरेको छ।

त्यस्तै, अस्पतालमा सेनाको स्वास्थ्यकर्मीसहितको टोली खटाइएको छ। उद्धार तथा राहतका लागि नेपाली सेनाले धुन्चे, रसुवा र धादिङको गजुरीबाट थप टोली परिचालन गरेको जनाइएको छ।

प्रभावित क्षेत्रमा सम्पर्कविहीन रहेका सुरक्षाकर्मी तथा अन्य नागरिकको खोजी र उद्धार कार्यलाई तीव्र बनाइएको छ।

#RasuwaFlood #रसुवाबाढी #ArghakhanchiCom #ArghakhanchiComHD #Rescue #NepalFlood

images