भोटेकोशी बाढी: चितवनमा उच्च सतर्कता

चितवन । रसुवाबाट आएको सूचनाअनुसार चीनको तिब्बतबाट नेपाल प्रवेश गर्ने त्रिशूली नदीमा आकस्मिक बाढी आएपछि नदीको बहाव बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रशासनले त्रिशूली तथा नारायणी नदीमा माछा मार्ने, बालुवा निकाल्ने तथा अन्य काम गर्ने व्यक्ति र मजदुरलाई नदीमा नजान आग्रह गरेको छ। नदीमा गइसकेकाहरूलाई तत्काल सुरक्षित स्थानमा जान पनि अनुरोध गरिएको छ ।

नदी आसपासका क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण, निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजना र नदी तटीय क्षेत्रमा रहेका कार्यालयलाई आवश्यक पूर्वतयारी तथा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। स्थानीय तहलाई नदी किनारमा बसोवास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्नसमेत अनुरोध गरिएको छ ।

नदी किनारका बस्ती तथा बाढी र पहिरोको दृष्टिले जोखिमयुक्त स्थानमा बसोवास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा सर्न प्रशासनले आग्रह गरेको छ ।

आपतकालीन अवस्था वा थप सहयोग तथा समन्वय आवश्यक परेमा नेपाल प्रहरी: १००, सशस्त्र प्रहरी बल नेपाल: १११४, जिल्ला आपतकालीन केन्द्र: १२३४, जिल्ला प्रहरी कार्यालय, चितवन: ९८५५०१३९९९ र जिल्ला प्रशासन कार्यालय, चितवन: ९८५५०९२२०० मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।