
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर संयमित तथा जिम्मेवार रूपमा अघि बढ्न पार्टीका नेता, सदस्य तथा शुभेच्छुकलाई आग्रह गरेका छन् ।
लामिछानेले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेका छन् ।

विपद्सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन उनले आग्रह गरेका छन् ।
संवेदनशील अवस्थामा अप्रमाणित सूचना, हल्ला तथा अफवाह सामाजिक सञ्जालमार्फत नफैलाउन पनि लामिछानेले अपिल गरेका छन् । गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाइ सिर्जना गर्नुका साथै नागरिकमा अनावश्यक त्रास फैलाउन सक्ने उनको भनाइ छ ।


उनले पार्टीका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सबै नेता तथा सदस्यलाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन् ।

विपद्को समयमा सबैको एउटै प्राथमिकता नागरिकको जीवनरक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग हुनुपर्ने लामिछानेले बताएका छन् । बाढी प्रभावित सबै नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उनले सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्नसमेत अपिल गरेका छन् ।





