
रसुवा । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण तिब्बततर्फ ठूलो मानवीय क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको बताएका छन्।
अधिकारीका अनुसार तिब्बतको च्याङलुलगायत क्षेत्रमा बाढीले ठूलो विनाश निम्त्याएको जानकारी प्राप्त भएको छ। बाढीको आयतन अत्यन्त ठूलो रहेकाले सीमा क्षेत्रका कतिपय सञ्चार सम्पर्कसमेत प्रभावित भएको उनले बताएका छन्।

“तिब्बततर्फ मानवीय क्षति एकदमै ठूलो भोल्युममा भएको छ, अब कति भन्ने विवरण आउन बाँकी छ,” अधिकारीले भने।


तिब्बततर्फ ठूलो जनधनको क्षति भएको खबर प्राप्त भइरहेकाले यसको गम्भीर असर नेपालतर्फका तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भन्दै प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने भोटेकोशी तथा त्रिशूली नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा सर्न प्रशासनले निर्देशन दिएको छ।

नदीमा पानीको सतह अनपेक्षित रूपमा बढिरहेको भन्दै तटीय क्षेत्रमा कुनै पनि गतिविधि नगर्न र सुरक्षित रहन प्रशासनले अपिल गरेको छ। नदी किनारमा सञ्चालित आयोजना, त्यहाँ कार्यरत मजदुर तथा स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।


बाढीको जोखिम अझै कायमै रहेकाले अर्को सूचना जारी नभएसम्म नदी किनारमा नजान प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।




