
काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द रहेको छ । प्रहरीले अर्को सूचना जारी नभएसम्म यी सडकमा सवारी सञ्चालन नगर्न आग्रह गरेको छ ।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार धादिङको गजुरीदेखि गल्छीसम्म विभिन्न स्थानमा लेदोले सडक ढाकेकोर सडकमा ठूलो मात्रामा लेदो जमेकाले तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था रहेको छैन ।

सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रुलाई उक्त सडकखण्डमा यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।


यसैबीच, मुग्लिन क्षेत्रमा बाढीपछि खोजी तथा उद्धारका क्रममा हालसम्म ४० जनाको शव फेला परेको जानकारी प्राप्त भएको छ । हिजो रातिसम्म ३९ जनाको शव फेला परेकोमा आज बिहान थप एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
बाढीको तीव्र बहावसँगै मानिस तथा अन्य सामग्री बगाएर ल्याएको हुन सक्ने भएकाले मुग्लिन आसपासका क्षेत्रमा खोजी कार्य जारी राखिएको छ ।

बाढी र पहिरोका कारण सडकको अवस्था जोखिमपूर्ण बनेकाले प्रहरीले पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्डमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । सडकमा जमेको लेदो हटाउने तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि अवस्था सामान्य नभएसम्म सवारी सञ्चालन गर्न कठिन हुने प्रहरीले जनाएको छ ।




