
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-७, ठुलो ढुङ्गामा छोराले काठको दाउरा (चिरपट) प्रहार गर्दा ७० वर्षीय बाबुको मृत्यु भएको छ ।
चिरपट प्रहार गर्ने ३२ वर्षीय छोरा युवराज लिम्बु पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।


विहिबार बिहान करिब ५:४५ बजे युवराज लिम्बुले आफ्नै बुबा अन्दाजी ७० वर्षीय अमरध्वज लिम्बुको टाउकोमा काठको दाउरा (चिरपट) ले प्रहार गरेका थिए । प्रहारबाट अमरध्वजको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको थप अनुसन्धान, खोजतलास तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमाण्डमा घटनास्थलमा खटिएको प्रहरी टोलीले फरार रहेका युवराजको खोजतलास गर्ने क्रममा बिहान करिब ८:१५ बजे घरबाट करिब ५०० मिटर दक्षिणतर्फको जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको जनाएको छ ।




