चीनको जलस्रोत मन्त्रालयले भन्योः सीमानजिक नदी थुनिएर ठूलो ताल बन्यो, ३ दिनमा फुट्न सक्ने

काठमाडौं, भदौ ११ ।  चीनको जलस्रोत मन्त्रालयले नेपाल नजिक छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा ठूलो ताल बनेको जनाएको छ । बिहीबार बिहानसम्म तालमा २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालको पानी भरिएर बाहिर बग्न थालिसकेको अनुमान गरिएको छ ।

यो समाचार चीनको ग्लोबल टाइम्समा प्रकाशित भएको हो । आगामी तीन दिनभित्र सो तालमा थप ३० लाख घनमिटर पानी थपिने अपेक्षा गरिएको छ, जसले गर्दा यो ताल फुट्ने उच्च जोखिम रहेको ‘चाइना सेन्ट्रल टेलिभिजन’ले बिहीबार उल्लेख गरेको छ ।

सम्भावित बाँध फुट्ने घटनाको तयारी गर्न र आपत्कालीन उद्धार कार्यमा सहयोग पुयाउन चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेकोको ग्लोबल टाइम्सले लेखेको छ ।
सम्भावित फुटाइ र आपत्कालीन उद्धार कार्यको तयारीका लागि बाढीको ‘सिमुलेशन’ र विश्लेषण भइरहेको जनाइएको छ।

नेपाल–चीन सीमाको नेपाली भू–भागबाट सुरु भएको विनाशकारी लेदोसहितको पहिरोले दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ नाका (केरुङ)मा क्षति पुऱ्याएपछि चिनियाँ अधिकारीहरूले विभिन्न मोर्चामा उद्धार टोली परिचालन गरेका छन् ।

भौगोलिक कठिनाइ, निरन्तरको वर्षा र पुनः विपद् आउन सक्ने जोखिमका बीच जनमुक्ति सेना, इन्जिनियरिङ टोली, टेलिकम अपरेटर र राहत संस्थाहरूले विमान, उपकरण र राहत सामग्रीसहित उद्धार कार्यलाई तीव्र पारेका छन् ।