चीनतर्फको ठूलो ताल फुट्यो : रसुवाका सीडीओ भन्छन्–‘भरखरै जानकारी आयो’

भोटेकोशी बाढीले नेपाल-चीन सीमामा पुर्‍याएको क्षति । तस्बिर : सिन्ह्वा/रासस

काठमाडौँ । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो अस्थायी ताल शुक्रबार फुटेको जानकारी आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले नेपाली सेनामार्फत आफूलाई भरखरै ताल फुटेको जानकारी प्राप्त भएको बताएका छन्।

सीडीओ परियारका अनुसार जानकारी पाएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित सम्बन्धित निकायलाई जानकारी गराई आवश्यक समन्वय भइरहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले पनि चीनतर्फबाट ताल फुटेको म्यासेजमार्फत जानकारी आएको बताए।

चीनको जलस्रोत मन्त्रालयले बिहीबार छोचेन खोला र पुरेपू त्साङ्पो नदीको दोभाननजिक ठूलो जलाशययुक्त ताल बनेको जनाएको थियो। बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र पानी बाहिरिन थालेको जानकारी दिइएको थियो।

तिब्बततर्फबाट बग्ने यी खोला नेपाल प्रवेश गरेपछि भोटेकोशीका रूपमा चिनिन्छन् र भोटेकोशी त्रिशूली नदीको मुख्य माथिल्लो शाखामध्ये एक हो। ताल फुटेसँगै पुनः बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी उद्धार अभियानसमेत तत्कालका लागि स्थगित गरेको छ।

भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

#ब्रेकिङन्युज #हाईअलर्ट #रसुवा #भोटेकोशी #त्रिशूली #बाढी #चीन #अर्घाखाँचीडटकम