भोटेकोशी बाढीमा मधेशका १२६ जना बेपत्ता, सप्तरीबाट मात्रै ३० जना

 सुभाष कायस्थ
जनकपुरधाम, १२ भदाै । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मधेश प्रदेशका विभिन्न जिल्लाका ठूलो संख्यामा नागरिक बेपत्ता भएका छन्।

मधेश प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको जिल्लागत अपडेट विवरणमा मधेशका आठ जिल्लाका १२६ जना बेपत्ता भएकाे हाे ।

प्रदेश प्रहरीको विवरणअनुसार सबैभन्दा बढी सप्तरीका ३० जना बेपत्ता सूचीमा छन्। त्यसपछि पर्साका २८, बाराका १९, रौतहटका १५, सर्लाहीका १०, महोत्तरीका १०, सिरहाका ९ र धनुषाका ५ जना छन्।

प्रदेश प्रहरीको सूचीमा पर्साका बेपत्तामध्ये सप्तरीबाट महादेवा, कञ्चनरूप, डाक्नेश्वरी, तिलाठी कोइलाडी, बोदेबरसाइन, राजगढलगायत स्थानीय तहका नागरिक रहेका छन ।

वीरगञ्ज महानगरपालिका, पोखरिया, बहुदरमाई, पटेर्वासुगौलीलगायत विभिन्न स्थानीय तहका नागरिक रहेको उल्लेख छ।

बाराका बेपत्ता व्यक्तिहरूमा कलैया उपमहानगरपालिका, परवानीपुर, निजगढ, जितपुरसिमरा, सुवर्णलगायत क्षेत्रका नागरिक छन्। रौतहटका बेपत्ता सूचीमा चन्द्रपुर, गौर, राजदेवी, ईशनाथलगायत स्थानीय तहका नागरिक छन्।

त्यस्तै सर्लाहीका बेपत्ता व्यक्तिहरूमा लालबन्दी, ईश्वरपुर तथा हरिपुर क्षेत्रका नागरिक छन्। महोत्तरीका नागरिकहरू गौशाला, जलेश्वरलगायत क्षेत्रका रहेका छन्। धनुषाका बेपत्तामध्ये हंसपुर र कमला नगरपालिका क्षेत्रका नागरिक छन्।

सिरहाबाट मिर्चैया, गोलबजार, धनगढीमाईलगायत क्षेत्रका नागरिक बेपत्ता सूचीमा छन् ।

images

कतिपय व्यक्ति रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका हुन । वेपता हुनेहरूमा अधिकांश अपर त्रिशुली जलविद्युत आयाेजना र हाइड्राेपावरमा कार्यरत ईन्जिनीयर र कामदार तथा उनका परिवार रहेकाे मधेश प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

बेपत्ता सूचीमा उमेरका हिसाबले पनि निकै ठूलो विविधता देखिन्छ। सप्तरीको खडक नगरपालिका–७ का ३ वर्षीय दिवस राम समेत सूचीमा छन्। त्यस्तै धनुषाको हंसपुर नगरपालिका क्षेत्रकी ७० वर्षीया ज्ञाती देवी यादव पनि बेपत्ता सूचीमा रहेको विवरणमा उल्लेख छ।

images

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख ओमप्रसाद अधिकारीले फाेन तथा विभिन्न सञ्चार माध्यमबाट शुक्रवार दिउंसाेसम्म प्रदेशका आठै जिल्लाबाट गरि १२६ जना वेपताकाे नाम संकलन गरिएकाे छ । नामावली संकलनकाे क्रम जारी रहेकाले याे संख्या अझै बढन सक्ने बताएका छन् ।

भोटेकोशी बाढीको प्रभाव रसुवाबाट तलतिर नुवाकोट, धादिङ, चितवनलगायत जिल्लासम्म परेको छ। नेपाल प्रहरीले शुक्रबार दिउँसोसम्म बाढीबाट ४ सय ८९ जनाको मृत्यु भएको जनाएको छ र खोज तथा उद्धार कार्य जारी रहेको बताएको छ।

images