बुन्डेसलिगाको १४ मध्ये १३ सिजन जितेको बायर्नको वर्चस्व कायमै रहला ?

काठमाडौं, १३ भदौं । जर्मन फुटबल जायन्ट बायर्न म्युनिख पुनः एकपटक बुन्डेसलिगाको उपाधि जित्ने प्रबल दाबेदारका रूपमा आफ्नो उपाधि रक्षा अभियान सुरु गर्दैछ।

विगत १४ सिजनमध्ये १३ वटा उपाधि आफ्नो कब्जामा पारिसकेको बायर्नलाई यसपटक पनि सट्टेबाजहरूले १–७ को बलियो र मुख्य दाबेदार मानिरहेका छन्। टोलीको मुख्य लक्ष्य लगातार तेस्रो पटक उपाधि जित्दै ‘ह्याट्रिक’ पूरा गर्नु रहेको छ।

मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पनीको नेतृत्वमा रहेको बायर्नले सिजनको सुरुवात उत्कृष्ट ढङ्गले गरिसकेको छ। गत साता भएको जर्मन सुपर कपमा चिर प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई २–१ ले पराजित गर्दै टोलीले पहिलो जीत हासिल गरिसकेको छ ।

टोलीका प्रमुख स्ट्राइकर तथा इङ्ल्यान्डका कप्तान ह्यारी केन चार सिजनमा चौथो पटक बुन्डेसलिगा ‘गोल्डेन बुट’ जित्ने लक्ष्यमा छन्। उनी व्यक्तिगत उपलब्धिभन्दा पनि टोलीलाई थप ट्रफी दिलाउन केन्द्रित देखिन्छन्।

प्रशिक्षक कोम्पनीले टोलीको लक्ष्य स्पष्ट पार्दै भनेका छन्, ‘बायर्नमा लक्ष्यहरू सधैं सकेसम्म उच्च राखिन्छन्। यसको अर्थ बुन्डेसलिगा, जर्मन कप, च्याम्पियन्स लिग जित्नु र सम्भव भएसम्म हरेक खेलमा जित हात पार्नु हो।’

यस सिजन बायर्न र केनका लागि कस्ता सम्भावनाहरू छन् र टोलीमा के कस्ता नयाँ परिवर्तनहरू आएका छन् भन्ने विषयमा खेल जगतमा व्यापक चर्चा भइरहेको छ।

एलियान्ज एरिनामा बुन्डेसलिगाको उपाधि जित्नु बायर्न म्युनिखका लागि केवल उत्सवको विषय नभई एउटा स्वाभाविक अपेक्षा जस्तै बनेको छ। सन् २०१२ यता बायर्नले केवल एक पटक सन् २०२३–२४ को सिजनमा बायर लेभरकुसेन अपराजित रहँदा मात्र लिग उपाधि गुमाउनुपरेको थियो।

बर्नली छोडेर बायर्नको जिम्मेवारी सम्हालेका प्रशिक्षक भिन्सेन्ट कोम्पानीको नेतृत्वमा टोलीले पछिल्ला दुई सिजनमा क्रमशः १३ र १६ अंकको फराकिलो अग्रतासहित शीर्ष स्थान हासिल गर्दै आफ्नो वर्चस्व कायम राखेको छ।

images

गत सिजन घरेलु प्रतियोगितामा डबल (लिग र कप) उपाधि जितेको बायर्न युरोपकै सबैभन्दा आकर्षक खेल प्रदर्शन गर्ने टोली बन्यो। टोलीले सबै प्रतियोगितामा गरी कुल १८४ गोल गरेको थियो, जसमा बुन्डेसलिगामा कीर्तिमानी १२२ गोल र च्याम्पियन्स लिगमा ४३ गोल सामेल थिए।

तर, च्याम्पियन्स लिगको सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनसँग समग्रमा ६–५ को नतिजामा पराजित हुँदै टोली बाहिरिनु परेको थियो।

images

सन् २०१२‘१३ मा ट्रिबल अर्थात तीन प्रमुख उपाधि जितेर सुरु भएको यो स्वर्ण युग यता बायर्नले सन् २०२० मा मात्र एक पटक युरोपको शीर्ष उपाधि जित्न सकेको छ। यद्यपि, जर्मन फुटबल लेखक कन्स्टान्टिन एक्नरका अनुसार कोम्पानीले यसै सिजन च्याम्पियन्स लिग जित्नैपर्छ भन्ने दबाब छैन।

images

‘बायर्नको उच्च नेतृत्व कोम्पानी र टोलीको प्रगतिबाट निकै खुसी छ,’ एक्नरले भने, ‘युरोपका शीर्ष चार टोलीबीच प्रतिस्पर्धा गरिरहँदासम्म क्लब व्यवस्थापन उनीसँग सन्तुष्ट छ। विगत आठ वर्षमा सात जना प्रशिक्षक फेरिएको बायर्नमा उनले व्यवस्थापकीय स्थिरता फर्काएका छन्।’

यी बेल्जियन प्रशिक्षकको आगमन निकै प्रभावशाली रहेको र उनी विश्वकै उत्कृष्ट प्रशिक्षक बन्ने बाटोमा रहेको विश्लेषण गरिएको छ। पेरिस सेन्ट जर्मेन विरुद्धको हारले उनले अझै केही कुरा सिक्न बाँकी रहेको देखाए पनि क्लबभित्र उनको नेतृत्वलाई लिएर उच्च विश्वास कायम छ।

उता, सन् २०२२ मा टोटनह्यामबाट चार वर्षे सम्झौतामा बायर्न म्युनिख आबद्ध हुँदा इङ्ल्यान्डका कप्तान ह्यारी केन सम्झौता सकिए पछि स्वदेश फर्किने अनुमान गरिएको थियो। टोटनह्याम र इङ्ल्यान्ड टोलीबाट कुनै ठूलो उपाधि जित्न नसकेका केनका लागि लगातार उपाधि जित्ने बायर्नको प्रस्ताव आकर्षक थियो। धेरैले उनी बायर्नमा केही उपाधि जितेपछि प्रिमियर लिगमा एलन शियररको सर्वाधिक गोलको कीर्तिमान, जसबाट उनी ४७ गोलले पछाडि छन्, तोड्न फर्किने ठानेका थिए।

तथापि, ३३ वर्षीय केनको सोचमा अहिले ठूलो परिवर्तन आएको छ। उनले हालै स्वीकार गर्दै भनेका छन्, ‘सुरुमा आउँदा म फर्किनेछु भन्ने सोचेको थिएँ, तर अब फर्किने त्यो हुटहुटी पहिले जस्तो छैन।’ बायर्नमा आफ्नो समयलाई निकै मन पराएका केन अहिले सम्झौता अवधि लम्ब्याउने विषयमा क्लबसँग छलफल गर्न तयार छन्।

Nepal life insurance

बायर्न व्यवस्थापन र समर्थकहरू पनि केनसँग निकै प्रभावित छन्। क्लबका मानार्थ अध्यक्ष उली हुनेशले केनलाई ‘हामीले अहिलेसम्म गरेकामध्ये सबैभन्दा उत्कृष्ट अनुबन्धन’ भनेका छन्। गर्ड मुलर, कार्ल हाइन्ज रुमेनिगे र रोबर्ट लेवान्डोस्की जस्ता दिग्गज गोलकर्ताहरूको इतिहास बोकेको क्लबका लागि यो ठूलो प्रशंसा हो।

केनको मैदानको प्रदर्शनले पनि यसलाई प्रमाणित गर्छ। गत सिजन उनले क्लबका लागि ५१ खेलमा ६१ गोल गर्दै बायर्नका लागि एकै सिजनमा सर्वाधिक गोल गर्ने नयाँ कीर्तिमान बनाएका थिए। यससँगै बायर्नका लागि १४७ खेलमा उनको कुल गोल संख्या १४६ र ३३ असिस्ट पुगेको छ। उनले सन् २०२४ र २०२६ मा ुयुरोपियन सुु तथा २०२५ मा बुन्डेसलिगाको ‘गोल्डेन बुट’ जितेका थिए ।  स्टटगार्टविरुद्धको जर्मन कप फाइनलमा ह्याट्रिक गर्दै टोलीलाई जित दिलाएका केनले २०२६ मा बायर्नलाई ‘डबल’ अर्थात लिग र कप उपाधि दिलाउन मुख्य भूमिका खेलेका थिए।