
काठमाडौँ, भदौ १४ । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि भारतले चौथोपटक ११ टन राहत सामग्रीसहितको सैन्य विमान नेपाल पठाएको छ।
भारतका विदेशमन्त्री एस जयशंकरका अनुसार शनिबार राति सी–१३० सैन्य विमानमार्फत खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहित ‘टनेल टेक्निकल टिम’ नेपाल पठाइएको हो।

टोलीसँगै बाढीमा परी बेपत्ता तथा मृतकको पहिचानका लागि फोरेन्सिक उपकरण र डीएनए विश्लेषण विशेषज्ञ टोली समेत पठाइएको छ। राहत सामग्रीमा कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र हाइजिन किटलगायत सामग्री रहेका छन्।


यसैगरी, २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल पुल निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रकसमेत नेपाल आइपुगेका छन्।
जयशंकरका अनुसार भारतले यसअघि औषधि, पोर्टेबल जेनेरेटर, खाद्य सामग्री, पानी शुद्धीकरण ट्याब्लेट तथा प्राविधिक उपकरणसहित कुल ६८.५ टन राहत सामग्री हवाईमार्फत नेपाल पठाइसकेको छ।

भोटेकोसी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत, बेपत्ताको खोजी तथा पुनःस्थापनाका लागि भारतले निरन्तर सहयोग गर्दै आएको छ।




