
चितवन । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये चितवनमा फेला परेका शवको व्यवस्थापन थालिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शवलाई पहिचान र डीएनए परीक्षणको प्रक्रिया सुरक्षित रहने गरी व्यवस्थापन गरिएको स्पष्ट पारेका छन्।
प्रजिअ अर्यालका अनुसार शव व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार प्रत्येक शवलाई छुट्टाछुट्टै कोड तथा स्टिलको नम्बर प्लेटसहित अभिलेख राखेर सुरक्षित रूपमा जमिनमा व्यवस्थापन गरिएको हो। सबै शवको डीएनए नमुना संकलन गरिएको उनले बताए।


डीएनए परीक्षणमा आफन्तसँग मिलान भएमा सम्बन्धित परिवारले शव निकालेर आफ्नो संस्कारअनुसार अन्त्येष्टि गर्न सक्ने व्यवस्था रहेको अर्यालले स्पष्ट पारे। उनका अनुसार शवलाई पहिचान नै गर्न नसकिने गरी सामूहिक रूपमा गाडिएको होइन।

बाढीका कारण ठूलो संख्यामा शव फेला परेपछि लामो समयसम्म सुरक्षित राख्न कठिन हुनुका साथै दुर्गन्ध फैलिन थालेपछि स्वास्थ्य तथा सरसफाइमा थप समस्या नआओस् भनेर शव व्यवस्थापन गर्नुपरेको प्रजिअ अर्यालले बताए।
उनका अनुसार शनिबार मात्रै ७०–८० भन्दा बढी शव व्यवस्थापन गरिएको छ। चितवनमा हालसम्म करिब २५० शव फेला परेको र शव भेटिने क्रम अझै जारी रहेको उनले जानकारी दिए।

पहिचान हुन सक्ने शवहरू आफन्तलाई बुझाउने कामसँगै पहिचान हुन नसकेका शवको डीएनए नमुना लिएर क्रमिक रूपमा व्यवस्थापन गरिने प्रशासनले जनाएको छ। डीएनए परीक्षणबाट पछि पहिचान खुलेमा आफन्तले कानुनी प्रक्रिया पूरा गरी शव निकालेर लैजान सक्नेछन्।




