
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ७३४ जनाको शव फेला परेको हो । जसमा रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २५९, गोरखामा ५८, तनहुँमा ३६, नवलपरासी पूर्वमा १८४ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेको छ ।


प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८ जना सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, रसुवाका ५२६, मकवानपुरका ६५ र नुवाकोटका ११५ जना रहेका छन् । त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
यसैगरी, ५८९ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १२७ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।





