५० टन राहत सामग्रीसहित चिनियाँ वायुसेनाका दुई ठूला विमान काठमाडौंमा

काठमाडौं, भदौ १४ । चीन सरकारले नेपालका बाढीपहिरो प्रभावितका लागि ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान आइतबार बिहान करिब ७ बजे राहत सामग्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ आवश्यक उद्धार उपकरणसहित नेपाल आएका छन्। उनीहरूले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग गर्नेछन्।

विमानमार्फत कुल ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन सामग्री ल्याइएको छ। राहत सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड/बिस्कुट तथा प्राथमिक उपचार किटलगायत सामग्री रहेका छन्।

चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका दुवै विमान करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेका हुन्।

May be an image of aircraft

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ तथा प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। सो अवसरमा चिनियाँ उद्धार विशेषज्ञ टोलीलाई स्वागत गरिएको थियो।

No photo description available.

नेपाल–चीन सीमा क्षेत्रसहित देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले चीनले आपत्कालीन राहत सामग्री र विशेषज्ञ टोली नेपाल पठाएको हो।