
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले विपद्को समयमा नेपाल रेडक्रस सोसाइटीले निर्वाह गरेको भुमिकाको उच्च प्रशंसा गर्नुभएको छ । विपद्का समयमा तत्कालै कार्यक्षेत्रमा खटिएर उद्धार तथा राहतमा पु¥याएको योगदानका लागि उहाँले रेडक्रसलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
विपद् व्यवस्थापनका सन्दर्भमा मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वादीले मन्त्रालयले विभिन्न संघसंस्थासँग समन्वय गरी काम गरिरहेको र त्यसमा रेडक्रसको सहयोग प्रभावकारी रहेको बताउनु भयो । मन्त्री वादीले हालको परिस्थितिमा परिवारका सदस्य गुमाएका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श (काउन्सिलिङ) को आवश्यकता रहेको उल्लेख गर्नुभयो ।


विशेषगरी अभिभावक गुमाएका बालबालिकाको सुरक्षा र उनीहरू हराउन सक्ने वा जोखिममा पर्न सक्ने सम्भावनाप्रति सचेत रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विपद्का बेला महिलाहरूमाथि हुनसक्ने हिंसाका घटना न्युनिकरण गर्न र पीडितलाई सुरक्षा प्रदान गर्न मन्त्रालय गम्भीर रहेको उहाँले बताउनु भयो ।




