
काठमाडौँ । भोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनेको संख्या ४ हजार नाघेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण अहिलेसम्म ४ हजार २४७ जना सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, रसुवाका ८६५, मकवानपुरका ६५ र नुवाकोटका १५५८ जना रहेका छन् । त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।


यसैगरी, ५९२ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १२७ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीनको संख्या थपघट हुन सक्ने जनाइएको छ ।
त्यस्तै, प्राधिकरणले अहिलेसम्म ९०३ जनाको शव फेला परेको जानकारी दिएको छ । जसमा रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, चितवनमा २७२, गोरखामा ६२, तनहुँमा ३७, नवलपरासी पूर्वमा २०७ र नवलपरासी पश्चिममा १५१ जनाको शव फेला परेको छ ।

प्राधिकरणले अहिलेसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको जानकारी दिएको छ । जसमा नेपाली सेनाबाट २५२ विदेशी र ३ हजार ३४४ नेपालीको उद्धार गरेको छ भने हवाई उडान अहिलेसम्म ४११ पटक गरिएको छ ।
त्यस्तै, अहिलेसम्म बाढीबाट २६७ घाइते रहेकोमा १५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले बाढीपछि राहत र उद्धारमा हाल २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । जसमा नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेनाका ८ हजार ७२२ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना परिचालन गरिउएको छ ।




