
आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनस्र्थापनाका सरकारलाई १० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।
सोमवार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले १० करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण पछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ढकालले आइएमईले संसारभरबाट सहयोग रकम नेपाल पठाउन निःशुल्क रेमिट्यान्स सुविधा उपलब्ध गराएको समेत जानकारी दिनुभयो ।
उहाँकाअनुसार विश्वका जुनसुकै देशबाट पनि प्रधानमन्त्री राहत कोषमा १० सेप्टेम्बरसम्म निःशुल्क रकम पठाउन सकिनेछ । उहाँले हालसम्म करिव २० हजार कारोबारमार्फत विदेशबाट प्रधानमन्त्री राहत कोषमा करिब १६ करोड रुपैयाँ जम्मा भइसकेको बताउनुभ यो ।


सेप्टेम्बर १० सम्म रेमिट्यान्समार्फत करिब ५० करोड रुपैयाँ सहयोग रकम आउने अपेक्षा गरिएको उहाँको भनाइ छ । उहाँले बाढीबाट सिर्जित विपद् गम्भीर रहेको भन्दै सरकारलाई सहयोग गर्दै उद्धार तथा राहतका काममा अघि बढ्न निजी क्षेत्र र आम नागरिकलाई आग्रह गर्नुभयो । अध्यक्ष ढकालले विपद्का बेला उद्धार, घाइतेको उपचार, राहत तथा शव व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुप अन्तर्गतका कम्पनीहरुको एक्युमुलेटेड अमाउन्ट १० करोडको चेक माननीय अर्थमन्त्रीज्यूलाई हस्तान्तरण गरेका छौँ । हामीहरुले विदेशबाट जुन रेमिट्यान्स लाग्ने शुल्क पनि अगामी सेप्टेम्बर १० सम्मको लागि फ्री गरेका छौँ । विश्वको जुनसुकै देशका नागरिकले पनि निःशुल्क रुपमा प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्न सक्नुहुनेछ । अहिलेसम्म करिब २० हजार ट्रान्जेक्सनमा करिब १६ करोड रुपैयाँ बराबरको विदेशबाट प्रधानमन्त्री राहत कोषमा जम्मा पनि भइसकेको छ । हामीले सेप्टेम्बर १० सम्मान करिब ५० करोड रुपैयाँ रेमिट्यान्समार्फत आउने विश्वास गरेका छौँ । त्यसैगरी बैंक वित्तीय संस्थाहरु, मनी ट्रान्सफर कम्पनीहरु जति पनि हुनुहुन्छ उहाँहरुले पनि निःशुल्क रुपमा पठाउनुभएको छ । त्यो हिसाबले एकदम सहज हिसाबले प्रधानमन्त्री राहत कोषमा विदेशमार्फत सहयोग आउने एउटा मेकानिज्म पनि बनेको छ । यो विपद्को समयमा प्राइभेट सेक्टरको तर्फबाट र आम पब्लिकको पनि पहिलो प्राथमिकता उद्धारमा नै हुनुपर्छ । त्यसैगरी घाइतेको उपचार, पीडितलाई राहतको कुरा पनि छ । शव व्यवस्थापनको कुरा पनि छ । यस्तो विपद् भूकम्प र कोभिडको समयमा समेत आएको थिएन । त्यसकारण यो समयमा सरकारलाई सहयोग गरेर अघि बढ्नुपर्ने अवस्था छ ।’
आइएमई ग्रुपले अकल्पनीय विपतमा बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितहरूका लागि खाद्यान्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको हो ।





