भोटेकोशी बाढी: ९३९ जनाको शव फेला, ३ हजार ९२५ सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ९३९ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ९३९ जनाको शव फेला परेको हो । जसमा रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, चितवनमा २७९, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६  र नवलपरासी पश्चिममा १६८ जनाको शव फेला परेको छ ।

प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ३ हजार ९२५ जना सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ६३९ जना, रसुवाका ८६५, नुवाकोटका १५५८ जना रहेका छन् । त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

यसैगरी, ५९२ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १६४ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।